ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले छात्रवृति प्रदान गरेको छ । रिड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
रीड नेपालका प्रबन्धक राजेन्द्र पन्तका अनुसार विभिन्न सङ्कायमा अध्ययनरत सात जना विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिअन्तर्गत सात जना छात्र-छात्राका लागि सात लाख ६८ हजार रुपैयाँ प्रदान नगरिएको प्रबन्धक पन्तले जानकारी दिए ।
तीन वर्षे प्राविधिकतर्फ सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिनकी सृष्टि राई र फक्ताङलुङ गाउँपालिका-५ हेल्लोकका अर्जुन लिम्बूले छात्रवृत्ति पाएका छन् । यसैगरी दुई वर्षे विज्ञान सङ्कायतर्फ फक्ताङलुङ गाउँपालिका-६ लेलेपकी निस्मा शेर्पा र सिरिजङ्घा गाउँपालिका-७ खेवाङकी पेटिसा दाहालले छात्रवृत्ति पाएका छन् ।
दुई वर्षे शिक्षा मानविकी व्यवस्थापन सङ्कायतर्फ फक्ताङलुङ गाउँपालिका-४ इखाबुकी वन्दना लिम्बू, इखाबुकै सोनी लिम्बू र सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेकी वृन्दा माबो लिम्बूले छात्रवृत्ति पाएका पन्तले बताए ।
रीड नेपालका अनुसार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको प्रथम आरोही बेलायतका नागरिक जर्ज बैन्डको नाममा स्थापित छात्रवृति विगत १२ वर्षदेखि वितरण गरिँदै आएको छ । उच्च शिक्षा छात्रवृत्तिबाट दुर्गम क्षेत्रका ९४ जना विद्यार्थी लाभान्वित भइसकेका छन् ।
हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा भौगोलिक हिसाबले दुर्गम तथा विकट क्षेत्रमा १६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षाका लागि परियोजना कार्यान्वयन गर्दै आइरहेको रिड नेपालले जनाएको छ ।