विराटनगर । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित एक घरबाट क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरीको नर्घो घर भई विराटनगर–१५ मा डेरा गरी बस्ने ३३ वर्षीय सञ्जीवकुमार मण्डल छन् ।

Advertisement

विराटनगर–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १६ थान मोबाइल, विभिन्न बैंकका एटीएम ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैंकको चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान लगायत बरामद गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!