संगालोखबर


विराटनगर । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । अब ४०० केभी प्रसारण लाइनबाट पर्याप्त विद्युत आपूर्ति हुने भएकाले भोल्टेज सुधार भई मोरङ–सुनसरी औद्योगिक करिडोरको विद्युत आपूर्ति सुधार हुने विद्युत प्राधिकरणले जनाएको छ ।

यसअघि भोल्टेज कम हुने र आपूर्ति अनियमित हुने समस्याले औद्योगिक क्षेत्र प्रभावित बनेको थियो । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित यस क्षेत्रको समग्र विद्युत आपूर्ति सुधारका लागि अहिले सञ्चालनमा रहेको इनरुवा–दुहबी १३२ केभी प्रसारण लाइनको पुरानो कन्डक्टरलाई बदलेर उच्च क्षमताको राख्ने प्रक्रिया शुरु भइसकेको जनाइएको छ ।

Advertisement

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको इनरुवा सबस्टेशनसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ मा रहेको सबस्टेशनबाट इनरुवा सबस्टेशनसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । हेटौँडा–ढल्केबर खण्ड भने निर्माणाधीन अवस्थामा छ । यसैगरी, इनरुवाबाट बर्जुसम्म १३२ केभी प्रसारण लाइन र बर्जुमा १३२ केभी सबस्टेशन निर्माणाधीन छ ।

ढल्केबर–इनरुवा खण्ड प्रसारण लाइनमा ४१७ वटा टार निर्माण गरिएका छन् । प्रसारण लाइनलाई सप्तकोशी पार गराउन नदीमा ११ वटा टावर निर्माण गरिएको छ । कोशी नदीमा पर्ने ५ किलोमिटर प्रसारण लाइनका लागि २४–३२ मिटर गहिरो जग हालिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनु देशको समग्र प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!