विराटनगर । सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा शिक्षकहरूले जोड दिएका छन् । सङ्घीय शिक्षा ऐनका विषयमा विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस विषयमा जोड दिएका हुन् ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आयोजना तथा नेपाल शिक्षक महासङ्घ मोरङको व्यवस्थापनमा कार्यक्रम भएको हो । अन्तरक्रियामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट शिक्षकका विभिन्न घटक संस्थाका अध्यक्ष, सचिव, महासङ्घका पदाधिकारी लगायतको सहभागिता थियो ।
नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अगुवा शिक्षकहरूले हिउँदे अधिवेशनबाट सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्ने बताए ।
प्रमुख वक्ता नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह-अध्यक्ष नानुमैया पराजुली, नेपाल शिक्षक सङ्घका राष्ट्रिय अध्यक्ष सोमनाथ गिरी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष हिकमत बहादुर बस्नेत, विद्यालय कर्मचारी परिषद्का कोशी प्रदेश अध्यक्ष मौसम श्रेष्ठ लगायतले सङ्घीय शिक्षा ऐनको अभावमा शिक्षक कर्मचारीका समस्याहरू यथावत रहेका बताए । उनीहरूले चाँडोभन्दा चाँडो सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिने जनाए ।
सरकारले हिउँदे अधिवेशनबाट सङ्घीय शिक्षा ऐन ल्याउन आनाकानी गरे आन्दोलन गर्ने उनीहरूको भनाइ थियो । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष सुवेदीले स्थानीय तहलाई शिक्षाको अधिकार दिनु गलत भएको बताए ।
संविधान संशोधन गरेर भएपनि शिक्षक अधिकार केन्द्रीय सरकारमा राख्नुपर्ने उनको भनाइ थियो । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सातै प्रदेशमा सुझाव सङ्कलन गर्ने गर्ने जनाएको छ ।
यसअघि बागमती प्रदेश र मधेस प्रदेशमा अन्तरक्रिया भइसकेको छ । सातै प्रदेशबाट सुझाव सङ्कलन भएपछि सङ्घीय सरकार समक्ष पेश गर्ने सुवेदीले जानकारी दिए ।