संगालोखबर

संखुवासभा । सभापोखरी गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीयस्थल भ्रमण गर्न आएका पोखराका एकजना वृद्धको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ का ७० वर्षीय बुद्धिबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आफ्ना छोरा २७ वर्षीय सागर गुरुङसहित भ्रमणमा आएका उनी चैनपुर नगरपालिका–१ गुफापोखरीबाट सभापोखरीतर्फ गएका थिए ।

त्यसतर्फ जाने क्रममा बुवालाई स्वास्थ्य समस्या भएको र हिँड्न असहज भएपछि सागर आसपास गाउँ बस्ती खोज्दै सहयोगका लागि अनुरोध गर्न गएका थिए । सभापोखरी–५, फाकुवा बस्ती पुगेर उनले गाउँलेलाई जानकारी दिँदै सहयोग मागेका थिए । गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हेलि एभरेष्ट प्रालिसँग समन्वयमा हेलिकप्टर समेत प्रयोग गरी वृद्धको खोजी गरेका थिए ।

बुवालाई छाडेर आएको ठाउँबारे उनका छोरालाई पत्तो नभएपछि खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी निरीक्षक लामिछानेले बताए । गाउँले सहितको सहयोगमा बिहिवार बिहान पुनः खोजी गर्ने क्रममा उनलाई ताप्लेजुङ र संखुवासभाको सीमा सभापोखरी गाउँपालिका–५ लोरुम्बामा मृत अवस्थामा भेटिएको उनले जानकारी दिए ।

वृद्धको शव बिहिवारै हेलिकप्टरमार्फत् जिल्ला अस्पताल खाँदबारी ल्याएर आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!