संगालोखबर सम्बाददाता

धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपरले ठक्कर दिएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिसाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ करिब ७ः१५ बजे ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरलाई जानकारी दिए । ‘गाडी ठोक्किँदा माननीय ज्यूको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । गाडी घटनास्थलमै छ । उहाँहरूलाई हामीले प्रहरीको गाडीमा राखेर पठाएका छौं,’ डीएसपी महर्जनले भने ।

संखुवासभाका कांग्रेस सभापतिसमेत रहेका सांसद खड्काको गाडीमा पाँच जना सवार थिए । दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका हुन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको छ । ओरालो बाटोमा ब्रेक फेल भई टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको बताइएको छ ।

सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । टिपर हटाएर सडक खुलाउँन क्रेन मगाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए ।

यसैबीच, शनिवार बिहान इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गर्दा सोही स्थान नजिकै विद्यार्थी बोकेको बस दुर्घटना भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!