संगालोखबर

विराटनगर । प्रसिद्ध लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद) को ८८ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९३ मा धनकुटा–६ मा जन्मिएका जोशी पछिल्लो समय झापाको दमकस्थित घरमा बस्दै आएका थिए । साँझ अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गरी उनको निधन भइसकेको जानकारी दिएका थिए ।

Advertisement

सानै उमेरदेखि गीतसङ्गीतमा लागेका उनको नेपाली संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको मानिन्छ । जोशीका दर्जनौं गीत रेडियो नेपालमा रेकर्ड गरिएका छन् । ती गीत अझै पनि लोकप्रिय छन् । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’ उनको सर्वाधिक चर्चित गीत हो ।

यसैगरी, ‘वल्लो खोलो हो, पल्लो खोलो कमिलाको गोलो भनेर…’ गीत पनि निकै चर्चित छ । जोशीका ‘खिपीमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दैछ गम्केर चट्टै’, ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ, ढोल बज्यो घुम्घुम्ती’, ‘केको माला केको माला सुपारीको माला’ लगायत गीत पनि स्रोतामाझ लोकप्रिय छन् ।

लोकसंगीतको क्षेत्रमा योगदान पुर्‍याएवापत जोशीले २०२२ र २०२९ सालमा उत्कृष्ट लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणी प्रकाशन सम्मान, २०७७ सालमा स्वरसम्राट नारायण गोपालको ३०औं स्मृति सम्मान लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

हार्मोनियम र तबला बजाउन खप्पिस उनी लोकभाका सङ्कलनपछि सङ्गीतबद्ध गरी गीत तयार गर्ने गर्थे । जोशीको दाहसंस्कार झापाको कन्काई माईमा आज ११ बजे गरिने जनाइएको छ । जोशीको निधनमा विभिन्न साहित्यिक, सांस्कृतिक संघ संस्थाहरूले दुःख व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!