सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको ‘स्काइवाक टावर’ उद्‌घाटन गरिएको छ । आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्‌घाटन गरेका हुन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगरका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्‌घाटन गरेका हुन् ।

यो संरचनाको निर्माण चार वर्षअघि थालिएको थियो । करिब २० करोड लगानीमा  स्काइवाक निर्माण गरिएको जनाइएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काइवाक निर्माण गरेको हो ।

५० मिटर लम्बाइको स्काइवाक टावर ‘क्यान्टिलिभर टावर’ को मोडलमा निर्माण भएको जनाइएको छ । एक पटकमा दुई सयजना हिँड्न सकिने स्काइवाक टावरको उचाइ १ सय मिटर र चौडाइ ४ मिटर छ ।

भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काइवाक निर्माण गरिएको हो । भेडेटारमा पूर्वी तराईसहित विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गर्छन् । भारतबाट पनि पर्यटकहरू आउने गरेका छन् । खासगरी गर्मी मौसममा आगन्तुकहरुको भीड लाग्ने गरेको छ ।

चिसो मौसम हुने भएकाले यहाँ आउने पर्यटकहरुको संख्या उल्लेख्य हुने गरेको छ । स्काइवाक टावरको निर्माणपछि आगन्तुकहरुको सङ्ख्या अझ बढ्ने अपेक्षा यहाँका पर्यटन व्यववसायीहरूले गरेका छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!