संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड आज दिउँसो १२ बजेबाट खुलेको छ । दुर्घटनाग्रस्त गाडीलाई क्रेनले सडकबाट हटाएपछि १७ घण्टापछि यातायात सुचारु भएको हो ।

Advertisement

एकै ठाउँमा चार वटा गाडी दुर्घटना भएर सडक ढाकेपछि शनिवार साँझ करिब ७ः१५ बजेबाट सडक अवरुद्ध भएको थियो । सो स्थानमा केही दिन अघि गाडी दुर्घटना भएर सडक किनारमा पल्टिएको थियो । त्यसपछि लगातार थप तीन वटा गाडी सोही स्थानमा दुर्घटना भएर सडक ढाकेपछि सवारी आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

विराटनगरबाट ल्याइएका दुई वटा क्रेनले गाडी पन्छाएर यातायात सुचारु गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘बाटोको अवरोध हट्यो, क्रेनले गाडी पन्छाएर वान वे गाडी खोलिएको छ,’ डीएसपी महर्जनले संगालोखबरसँग भने, ‘रोकिएका सबै गाडीहरू गन्तव्यतर्फ लागिसकेका छन् ।’

शनिवार बिहान इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गर्दा सोही स्थान नजिकै विद्यार्थी बोकेको बस पनि दुर्घटना भएको थियो । योसँगै तीन दिनयता कोलबोटेमा पाँच वटा गाडी दुर्घटना भएका छन् ।

ओरालो र घुम्ती सडक भएका कारण सो स्थानमा पटक-पटक सवारी दुर्घटना हुने गरेको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्का बताउँछन् । 

यसअघि प्रकाशित…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!