संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदको लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।

उम्मेदवारको टुङ्गो लागेसँगै राजनीतिक दलले आ–आफ्नो प्रभाव जमाउन चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । राजनीतिक दलले मतदाताको घरदैलोसँगै आ-आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण पनि दिन थालेका छन् ।

Advertisement

ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएर चुनावी प्रचारप्रसारमा होमियो । करिब दुई महिना अगाडि काङ्ग्रेसबाट पार्टी प्रवेश गरेका नमो नारायण माझीलाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ ।

माओवादी आफ्ना चुनावी एजेण्डासहित अहिले मतदाताको घरदैलोमा पुगिरहेको छ । माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा ग्रामथान-१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसबेला उनी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । माझी ८२८ मत पाएर विजयी भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको टिकट नपाएका उनले वडा नम्बर १ बाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सो निर्वाचनमा माझी नेपाली काङ्ग्रेसका उम्मेदवार सुरेश कुमार माझीसँग १६४ मतान्तरले पराजित भएका थिए । नेकपा एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । विश्वास एमाले ग्रामथान गाउँ कमिटीको उपाध्यक्ष हुन् ।

एमालेले पनि चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । हिजो मात्रै एमालेले महासचिव शंकर पोखरेलको उपस्थितिमा निर्वाचनलाई लक्षित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना उम्मेदवार विश्वासलाई जिताउन कुनै भ्रममा नपरी प्रचारप्रसारमा खटिन नेताहरूले निर्देशन समेत दिएका थिए । एमालेले पनि अहिले घरदैलो कार्यक्रमलाई तीब्र पारेको छ ।

नेपाली काङ्ग्रेस बलराम सरदारलाई उम्मेदवार बनाएर चुनावी प्रचारप्रसारमा होमिएको छ । विभिन्न चुनावी एजेण्डासहित काङ्ग्रेसले घरदैलो अभियान तीब्र बनाएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । उम्मेदवार घोषणा गरेसँगै समाजवादीले तेतरियामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ ।

कार्यालयको उद्‌घाटन गर्दै पोलिटब्युरो सदस्य महेश रेग्मीले भुँइमान्छेलाई उम्मेदवार बनाएको बताए । उनले विश्वकर्माको जित निश्चित भएको उल्लेख गर्दै उनले गरेका कार्यको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै उम्मेदवार विश्वकर्माले आफूले जितेको खण्डमा विभिन्न कामहरू गर्ने प्रतिवद्धता जनाएका थिए । ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!