सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । बुधबार कार्यक्रम आयोजना गरेर नगरपालिकाले योजना तथा कार्यक्रमको वार्षिक प्रगति  प्रस्तुत गरेको हो ।

आ.व. २०८०/०८१ मा ८१ वटा घटना न्यायिक समितिमा दर्ता भएको उपप्रमुख भिमा देवी खनालले जानकारी दिइन् । न्यायिक समितिले गरेका कामको प्रगति प्रस्तुत गर्दै उपप्रमुख खनालले दर्ता भएका मध्ये केही अदालतमा गएको, केही समाधान भएको र केही प्रक्रियामा रहेको बताइन् ।

Advertisement

नगरबाट सञ्चालन भएका योजनाहरूको नियमित कार्यन्वयन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । नगरबाट प्रदान हुने सेवा सहजतापूर्वक सेवाग्राहीले पाइरहेको उनले बताए ।

यस्तै धनकुटा नगरपालिका-२ र ७ ले गरेको सेवा प्रवाहका विषयमा जानकारी गराइएको थियो । वडामा जन्म, मृत्यु र बसाइँसराई लगायतका घटना दर्तामा सेवाग्राहीलाई सहज सेवा दिइरहेको वडाध्यक्षहरूले बताए । वडाको वार्षिक राजस्व सङ्कलन, मेलमिलाप, वडा समिति बैठक, तालिम लगायत काम नियमित भइरहेको जानकारी गराए ।

शनिबार बाहेक नगरको सरसफाइ नियमित गरिरहेको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा नगरले विभिन्न कार्यक्रम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए । अपाङ्गता रोकथाम, मिर्गौला, क्यान्सर र मुटु रोगी लगायतलाई आर्थिक सहायता समेत प्रदान गर्दै आएको उनले जानकारी दिए । त्यस्तै बेलहरा, भीरगाउँ, मूलघाट, सान्ताङ र पात्ले स्वास्थ्य संस्थाका प्रमुखहरूले एकवर्ष भरी गरेका सेवा तथा सुविधाका बारेमा जानकारी गराए ।

नगरपालिकामा रहेका सम्पूर्ण शाखाहरूले आर्थिक वर्ष २०८०/०८१ भित्र संचालन गरेका कार्यक्रमको बारेमा जानकारी दिए । नगर प्रहरीले २४ घण्टा काम गर्दै आएको नगर प्रहरी सहायक निरीक्षक रवि खत्रीले बताए ।

नियम विपरीत पार्किङ गरेको र कारबाहीमा परेका सवारीबाट ५० हजार भन्दा बढी जरिवाना असुल गरिएको उनले बताए । नगरपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा १६ वटा नयाँ घर निर्माण, ८ वटा नामसारी र निर्माण सम्पन्न ५६ वटा गरी जम्मा ८१ वटा घरलाई सेवा प्रदान गरिएको बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!