धनकुटा । धनकुटा नगरपालिकाले भोलि शुक्रबार स्थानीय बिदा दिएको छ । धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्य पर्व वाडाङमेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो ।
स्थानीय आठपहरिया जातिको महान पर्व भएकाले बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदा दिने गरिएको छ,’ नगर प्रमुख तामाङले संगालोखबरसँग भने, ‘पहिले दुई दिन बिदा दिने गरिएको थियो, यो पटक पर्सि शनिवार बिदाकै दिन भएकाले एक दिनमात्र बिदा दिएका छौं ।’
धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले नगरपालिकाको तर्फबाट आज सूचना जारी गरेर नगर कार्यपालिका कार्यालय, वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरू र नगर क्षेत्रका विद्यालयहरू बिदा हुने जानकारी दिएका छन् । मंसिरे चाडको रुपमा पनि लिइने यो पर्व कार्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म आठपहरिया समुदायमा धुमधाम मनाउने गरिन्छ ।
धनकुटा नगर क्षेत्र आठपहरियाको उद्गम स्थल हो । मुख्यगरी वडा नं. २, ७, ८ र ९ मा आठपहरियाको बसोवास छ । देशभर करिब १० हजारको सङ्ख्यामा रहेका आठपहरियाहरू मध्ये धनकुटामा झण्डै ८ हजारको बसोबास छ ।
भिडियो…