धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो पर्व तिहारको भाइटीकामा सुरु भई मंसिरे औँसीसम्म मनाउने गर्दछन् ।
आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरि तीन वटा पर्व मनाउँछन् । जसमध्ये यसलाई विशेष महत्व दिएर मनाउने गरेका छन् । यस चाडमा वर्ष दिनभित्र मृत्यु भएका आमा तथा बुवाको दुःखबाट उक्सिने, घरको जेठो छोरा जन्मिएको र नयाँ घर निर्माण गरेकोमा खुशीका साटासाट गर्ने चलन छ ।
भाइटीकाको दिन भैलो खेलेर पर्वको सुरु हुन्छ । त्यसपछि भने द्वादशी तिथिमा यो वर्षभित्र आमाबाबु गुमाउनेले धनकुटाबाट खाली खुट्टा हिँडेर सुनसरीको बराहक्षेत्र पुगेर कपाल र दाह्री खौरने चलन रहेको स्थानीय नारायण कुमार आठपहरियाले बताए ।
कोकाहा खोलामा पुगी कपाल दाह्री खौरिएर स्नान गरी बराह भगवानको दर्शन गर्ने र देवता आफ्नो घरमा लिएर आउने गर्दछन् । उनीहरू मङ्गलवार बिहान धनकुटाबाट बराहक्षेत्रतर्फ हिँडेका छन् ।
सो दिन उनीहरू भञ्ज्याङ (सिमलबाँस) मा बास बसी हिजो बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरी बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्न आइपुगेका छन् ।
आज देवता लिएर फर्की धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा बास बसेर उनीहरू भोलि घर आइपुग्ने छन् । पूर्णिमाको दिन बिहान घर आएपछि आ–आफ्नो घरमा दुःखको कर्म फुकाउने गर्दछन् ।
यससँगै आठपहरियाले खुसियालीमा भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । उनीहरू औँसीसम्म यसरी नै नाचगान गर्ने गर्दछन् । यस अवसरमा उनीहरूले जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्दै रमाइलो गर्ने गर्दछन् ।