धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान बन्दै गएको छ । सेवा सुविधा र अवसरको खोजीमा बसाइँसराइ बढेपछि पछिल्लो समय टक्सार बजार सुनसान बन्दै गएको हो ।
बसाइँसराइसँगै पुरातात्विक तथा कलात्मक शैलीका घरहरू समेत जीर्ण बन्दै गएका छन् । भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको टक्सार बजारका धातु उद्योगहरू पनि बन्द हुँदै गएका छन् ।
टक्सारमा दुईसय वर्षदेखि धातुका सामाग्री बनाउँदै आएको इतिहास पाइन्छ । २५ वटा धातुको उद्योग रहेकोमा २०७५ साल यता चार वटा मात्रै सञ्चालनमा छन् ।
सीप पुस्तान्तरण नहुँदा उद्योग धमाधम बन्द हुन थालेका उद्यमी बुद्धराज शाक्यले बताए । ‘धातुका सामग्री बनाउने काम गाह्रो भएकाले युवा पुस्ता आकर्षित भएनन्’, उनले भने, ‘हामीले जति सक्यौँ गर्यौँ। अब बाँकी रहेका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् ।’
उद्योगमा कलात्मक शैलीमा धातुका करुवा, आम्खोरा, कचौरा, कप, डाडु, पन्यु, थाल, डबका, गाग्रा, खड्कुँला आदि बनाउने गरिन्छ । धातुका सामानको माग बढी भएपनि उत्पादन कम हुँदा धान्न मुस्किल हुने गरेको उनले सुनाए ।
‘उद्योग पनि कम भए । बनाउने कालिगढ पनि पाउन मुस्किल छ’, उनले भने, ‘यहाँको मौलिक कला र उद्योग संरक्षणका लागि आवश्यक श्रोत र साधन उपलब्ध गराउन आवश्यक छ ।’
कच्चा पदार्थ र कालिगढको अभावले पुर्खौली पेसा ओझेलमा पर्दै गएको उद्यमी विमल शाक्यले बताए । ‘उद्योगलाई कोइला, धातु, धलोट लगायतका कच्चापदार्थ आवश्यक पर्छ’, शाक्यले भने, ‘कच्चा पदार्थ काठमाडौंबाट ल्याउनुपर्छ । भनेजति पाउन पनि मुस्किल पर्छ । जनशक्तिको पनि अभाव छ ।’
टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कलकत्तासम्म निर्यात हुन्छ । बसाइँसराइले कलात्मक घरसँगै मठ मन्दिर समेत जीर्ण भएर भत्किन थालेका छन् ।