विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो ।
उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चरिङ एशोसिएसनको संयुक्त आयोजनामा सिङ्गापुरमा भएको समारोहमा सङ्गठनका अध्यक्ष राकेश सुरानालाई अवार्ड प्रदान नगरिएको थियो ।
आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको बहस र पैरवी, स्थानीय औद्योगिक गतिविधि साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्याएको योगदानलाई आधार मानेर अवार्ड प्रदान नगरिएको हो ।
सङ्गठनले अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएकोमा अध्यक्ष सुरानाले खुसी व्यक्त गरे । उनले प्रदेश सरकारको आयोजना तथा सङ्गठनको सहसंयोजनमा २०८१ माघ ११ देखि १३ गते सम्म विराटनगरमा हुने कोशी प्रदेश लगानी सम्मेलन तथा विराट एक्स्पो २०२५ मा सहभागिताका लागि क्यासी कन्फेरेन्समा उपस्थित विभिन्न देशका व्यवसायीहरूलाई आमन्त्रण पनि गरेका छन ।
अवार्ड थाप्न सङ्गठनको प्रतिनिधिमण्डल कात्तिक २४ गते सिङ्गापुर गएको थियो । सङ्गठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष त्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणि भट्टराई समारोहमा सहभागी भएका थिए ।