विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् ।
उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् ।
ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको थियो । करिब दुई महिना अघि काङ्ग्रेसबाट पार्टी प्रवेश गरेका नमो नारायण माझीलाई अध्यक्ष पदको उम्मेदवार बनाएर माओवादी चुनावी अभियानमा लागेको छ ।
माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट ग्रामथान-१ को वडाध्यक्ष निर्वाचित भएका थिए । ०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको टिकट नपाएपछि वडाध्यक्षमै स्वतन्त्र उम्मेद्वारी दिए, तर पराजित भए । पछि काँग्रेस हुँदै माओवादीमा आएर उनी अध्यक्ष पदको उम्मेद्वार बनेका हुन् ।
नेकपा एमाले पनि उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएको छ । एमालेले ग्रामथान गाउँ कमिटी उपाध्यक्ष तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । विश्वासलाई जिताउन पार्टी नेता कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
हिजो मात्रै एमालेले महासचिव शंकर पोखरेलको उपस्थितिमा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा व्यापक रुपमा लाग्न नेताहरूले पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।
बलराम सरदारलाई उम्मेदवार बनाएर काँग्रेस पनि चुनावी अभियानमा लागेको छ । विभिन्न चुनावी एजेण्डासहित काङ्ग्रेसले घरदैलो अभियान तीब्र बनाएको छ ।
नेकपा एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । उम्मेदवार घोषणासँगै समाजवादीले तेतरियामा चुनावी सम्पर्क कार्यालय पनि स्थापना गरेको छ ।
काँग्रेसबाट निर्वाचित पालिका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । ग्रामथानसहित पद रिक्त रहेका सबै ठाउँमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
यो पनि-