नेपाल एक बुहजाती, वहुभाषिक, वहुसाँस्कृतिक राज्य हो । जुनसुकै धर्म, वर्ण, समुदाय, जातजातिको भएपनि आफ्नो भाषा, लिपि, सस्कृतिको संरक्षण र सम्वद्धन गर्नु राज्य र हामी सवैको कर्तब्य र जिम्मेवारी हो । त्यसैगरी अहिले धार्मिक स्थल तथा धार्मिक गुठीको पनि संरक्षण उत्तिकै आवश्यक छ ।
नेपालको आदिवासी किराती राईहरुको पनि आफ्नो छुट्टै पहिचान छ । उनीहरुको आफ्नौ धर्म आफ्नै भाषा र आफ्नै सस्कृती छ । नेपालको कुल जनसंख्या मध्ये करिव ७ लाख यी समुदायका मानिस छन् । आदिवासी किरातीहरु प्रकृति पुजक भएकाले प्रकृतीलाई खुशी पार्न बाली नाली राम्रो होस् भनेर बाली लगाउने समय बैसाख पूर्णिमा अर्थात चण्डि पूर्णिमा र बाली नाली भित्त्राउने समय मंसिरे पूर्णिमा अर्थात धान्नपूर्णिमामा बर्षको दुई पटक विशेष गरी प्रकृतिको पुजा गरी खुशीयालीका साथ चण्डिनाच नाचिन्छ । यस पटक बैसाख १७ गते बैसाखी पूर्णीमाको दिनदेखि उभौली पर्वको रुपमा आदिवासी किराती राईहरुले बढीमा १५ दिनसम्म चण्डी नाच नाच्दै मनाउदैछन् ।
राई जातिको विशेष पहिचान र महत्वको रुपमा रहेको (चण्डी) नाच नै हो । हुनत आफ्नो भाषागत भौगोलिक कारण यसलाई ठाउँ र स्थानका साथै हाम्रो समुदायको पाछा अनुसार बेग्ला–बेग्लै भाषाले अभिव्यक्त गरिन्छ । चण्डीनाचलाई राईहरुले सोकला, साङपाङ राईहरुले साख्ने, थुलुङ राईहरुले तोषी, वान्तवा राईहरुले साकेन्वा इत्यादि नाम भन्ने गरिन्छ । तर, जुन नामले भनिएपनि नाच उही चण्डीनै हो । साकेन्वा चण्डी भनेको पृथ्वीपालक, मानवपालक, सम्पूर्ण जीवजन्त प्राणीहरुको जिवन रक्षा गर्ने कोमल हृदय भएकी प्रकृतिदेवी बातावरण आदिको नाम हो ।
किराती राईको चण्डी पूर्णिमा अर्थात बैसाखी पूर्णिमा र मंसिरे पूर्णिमा (धान्य पूर्णिमामा विशेष महत्वको चाड भएकोले यो पर्वलाई उनीहरुले साँस्कृतिक महोत्सवको रुपमासमेत मनाउदै आएका छन । यस पटक बैसाखी पूर्णिमा बैशाख १७ गते पनि किरात राई समुदायको घना वस्ती रहेको स्थानहरुमा साँस्कृतिक महोत्सवको रुपमा धुमधामसंग चण्डी नाच्न विशेष कार्यक्रमहरु रहेका छन् ।
विशेषगरी किराती राईको प्रमुख वस्ती रहेको पूवी पहाडका धनकुटा, भोजपुर, संखुवासभा , खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखम्बु, सुनसरी, मोरङ, पाचथर, इलाम, झापा लगायत जिल्लामा चण्डी नाच नाचिन्छ । यसका अवला काठमाण्डौ, तलितपुर र भक्तपुरका साथै विदेशमा दार्जेलिङ्ग, सिक्सिम, यूके र हङकङ्गमासमेत किराती राईहरुले भव्य रुपमा नाच्छन । यस नाचमा केटा केटीदेखि तरुनी तन्नेरी बुद्ध बुद्धासमेत सोई ढोले सोई अर्को ढोले खोईको गितमा उफ्री उफ्री मच्ची मच्ची फूर्तीका साथ नाच्छन ।
साकेन्वा (चण्डी) नाचको उत्पत्तिको वारेमा राईहरुको किबन्दी अनुसार सारा ब्रह्माण्डका सृष्टि निनाम्माले गरे । तर, ब्रहमाण्डको शुन्य थियो । शुन्य ब्रह्माण्डको शासकको रुपमा पारुहाङ्गको सृष्टि भयो । यसैगरी ब्रह्माण्डलाई सुन्दर बनाउन निनाम्माले सुम्निमाको सृष्टि गरिन् । सुम्निमा बढ्दै विस्तारै जवान हुदै गईन । तर, धर्तीमा चराचुरुगी पशुपन्छी बाहेक एक्लै थिईन । सुम्निमा धर्तीमा एक्लै भएको देखी स्वर्गबाट पारुहाङ्गले उपहारस्वरुप सुनको काइयो खसालिदिए । सुम्निमाले आश्चर्यचकित हुदै उपहारदातालाई पत्ता लगाउन चिफुर्के चरालाई स्वर्गतिर पठाईन । ती चरादुत मार्फत स्वर्ग र धर्तीकोवीच सुसम्बन्ध स्थापित भयो । पारुहाङ्गले चरादुत मार्फत धर्तीप्रति आफ्नो अथाह मोह भएको सन्देश पठाएपछि सुम्निमा खुशीले गदगद भईन् ।
पूर्णिमाको टहह जुन लागेको प्रकृती बैसले मातेको धर्मी शरद ऋतुको समयमा पारुहाङ्ग धर्तीमा उत्रे । पारुहाङ्ग धर्तीमा उत्रेको थाह पाएपछि सुम्निमाका सारा साथीहरु चराचुरुगी, पशुपन्छिहरु खुशीले उफ्रन, कराउन थाले, नदीनालाहरु कलकलाउन र सुस्ताउन थाले, फूल अनि बनस्पतीहरुले सारा सुवासना छरे । यही समयमा सुम्निमा र पारुहाङ्गको मिलन भयो । सुम्निमा र पारुहाङ्गको मिलनपश्चात् पारुहाङ्गको इच्छाअनुसार सारा पृथ्वीको भ्रमणमा निस्के । जादाजादै बाटामा पारुहाङ्ग तपस्यामा वस्ने भए । उता सुम्निमा गर्भवती भईन् ।
चराचुरुगीहरुको सहयोगमा सुम्निमाले मनुष्य, बाघ, भालु र बास गरी चार सन्तानको जन्म दिईन । उनीहरुको नाम क्रमश हेन्कुवुङ, किवा, माक्सा र साम्बा राखिन् । उता आफ्नो तपस्या सकेर पारुहाङ कुटी फर्की आएर आफ्नो तपस्या सफल भएको खुशीले नाच्न थाले । त्यही नाचलाई राईहरुले पारुलाक भन्ने गरेको पाईन्छ । सुम्निमाका चार सन्तानहरुमा विस्तारै आपसी मेलमिलाप हुन छाड्यो । यो देखेर सुम्निमाले मनुष्यलार्ई पृथ्वीको राजा, बाघलाई जंगलको राजा, भालुलाई छाडा र वासलाई संरक्षण गर्ने बरदान दिईन् । पारुहाङले आफ्ना सन्तानको लागी बालीनालीको पनि सृष्टि गर्दिए । त्यसैले यो नाचमा बालीनाली लगाउने, उठाउने जस्ता सिलीहरु चण्डीनाच नाच्दा नाच्ने गरेको पाईन्छ ।
सोकेन्वा (चण्डी) नाच ६/६ महिनामा गरी बर्षमा २ पटक नाच्ने चलन छ । बसन्त ऋतुमा बालीनाली राम्रो होस, शुख शान्ति, आरोग्य रहोस भनी चण्डिपूर्णिमामा अर्थात बुद्धपूर्णिमा सुम्निमाको सृष्टि भएकोदेखि लिएर अष्टमीको दिनसम्म गरी जम्मा ९ दिन नाच्ने चलन छ । जसलाई उभौली सेवा र अर्को ६ महिना पश्चात् शरद ऋतुपश्चात् पाकेको बालीनाली आफ्ना पितापुर्खा, सुष्टिकर्ताका नाममा चढाउदै ढोल, झ्याम्टा, धनुकाड, अदुवा, मर्चाको पूजा गर्दै मंसिरे (धान्य) पूर्णिमाको दिन नाच्ने चलन छ । यसलाई उधौली सेवा भनिन्छ ।
विशेषगरी ढोल, झ्याम्टा, धनुकाड, अदुवा, मर्चाकासाथ पुजा गरी सुष्टि र प्रकृतिको पूजा गर्नु तब मात्र तिमीहरुको कल्याण हुन्छ अनी सुख शान्ति हुन्छ भनी स्वर्ग लागेकाले सृष्टिकर्ता र पितापुर्खाको नाममा पूजा गर्ने र खुशीयालीमा चण्डी नाच्ने चलन रहेको हो । वास्तवमा यो नाच हेर्दा वा नाच्दा अत्यन्तै रोचक र रमाईलो हुन्छ । चण्डी नाचमा विभिन्न प्रकारका सिलीहरुमा नाच्ने चलन छ । जसमध्ये सुम्निमा सिली र तावमा खियामा सिली रहेको पाईन्छ । सम्निमा सिलीमा धान रोप्ने गोड्ने, काट्ने भेला पार्ने झाट्ने लगायतका सिली नाच्ने गरिन्छ । तावमा खियामा सिली अन्तर्गत कपास छर्ने, टिप्ने, तान बुन्ने जस्ता सिलीहरुमा नाच्ने गरिन्छ । यी हाते सिलीको अलवा खुट्टाको सिली पनि नाच्ने चलन छ ।
खुट्टाको सिली विशेष गरी चाम्लिङ्ग राईहरुमा र बान्तवा राईहरुमा हातको सिली नाच्ने गरेको पाईन्छ । यसरी विशेष महत्वको रुपमा रहेको प्रमुख चण्डि नाच दिन प्रतिदिन आधुनिकरण र पश्चिमिली सस्कृतिको प्रभाव बढ्दै गरेकोले लोप हुदै हराउने डर भएकोले यसको संरक्षण र संवद्धनका लागि अहिले किरात राई यायोक्खा लगायतका जातीय संस्था र राज्यबाटसमेत विशेष पहल हुदै आएको छ । त्यसैले यो नाच किरात राई वस्तीहरुमा अहिले व्यापकताका साथ उत्साहपूर्ण ढंगले नाच्न थालिएकाले यो नाचको महत्व थप बढ्दै गएको छ ।[email protected]
(लेखक किरात राई यायोख्या धनकुटा र किरात राई पत्रकार संघ धनकुटाका सल्लाहकार हुन् ।)