संगालोखबर


विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६, रामचोकका ४० वर्षीय जोगीकुमार महतोले न्यायको अपिल गरेका छन् । उनले आफूमाथि धारिलो हतियार प्रहार भएको र प्रहरी प्रशासनले उजुरी लिन नमानेको भन्दै विराटनगरमा पत्रकार सम्मेलन गरेर न्यायको अपिल गरेका हुन् ।

‘म मजदुरीको काम गर्ने मान्छे हुँ । चैत १७ गते काम सकेर म र मेरो साथी लक्षु महतो घर जाँदैथियौं’, उनले भने, ‘राति सवा ८ बजेतिर कटहरीको नयाँ बजार पुगेका थियौं । हाम्रो नास्ता खाने सल्लाह भयो । नास्ता खाएर निक्लिएपछि अपरिचित दुईजनाले अनावश्यक विवाद गरे । विवाद नगर्न आग्रह गर्दा एक जनाले पछाडिबाट टाउकोमा धारिलो हतियार प्रहार गरे ।’

Advertisement

त्यसपछि बेहोस भएका उनले करिब १५ मिनेटपछि होस आएको बताए । उनका अनुसार धारिलो हतियार प्रहार गर्ने व्यक्ति नयाँ बजारका विजय सोरेन रहेको पछि थाहा पाएको उनले सुनाए ।

‘होस आएपछि मलाई स्थानीयले नजिकैको मेडिकलमा लिएर गए । त्यहाँ उपचार सम्भव नभएपछि राति नै कोशी अस्पतालमा ल्याइएको थियो’, उनले थपे, ‘टाउकोको पछाडि भागमा ७/८ वटा टाँका लगाइएको छ ।’

कोशी अस्पतालको सल्लाह अनुसार श्रीमानलाई १८ गते बिहान थप उपचारका लागि नोवेल अस्पताल लगिएको र एक्सरे गर्दा देब्रेतर्फको करङ भाँचिएको डाक्टरले बताएको श्रीमती रुकोदेवी महतोले बताइन् ।

उनका अनुसार कटहरी प्रहरीले १८ गते फोन गरेर तुरुन्त प्रहरीका निवेदन दिन भनेका थिए । ‘म श्रीमानलाई हेरचाह गर्न अस्पतालमा नै थिए । तुरुन्त निवेदन दिनु भनेर फोन आयो’, उनले भनिन्, ‘त्यसपछि १३ वर्षीय छोरालाई कुरुवा राखेर निवेदन दिन जिल्ला प्रहरी कार्यालय मोरङ गए । तर निवेदन मिलेन भनेर फर्काइदियो ।’

पुनः भोलिपल्ट अर्थात १९ गते निवेदन दिन जिल्ला पुगेपनि म्याद सकिएको भनेर प्रहरीले उजुरी लिन नमानेको उनले सुनाइन् । उल्टै प्रहरीले धम्क्याएर पठाएको उनको भनाइ छ । प्रहरीले पीडकसँग लेनदेन गरेर मिल्न पनि आफूहरूलाई दवाव दिएको उनको आरोप छ । यस्तै चैत २० गते पुनः जिल्ला प्रहरी कार्यालय पुग्दा समेत निवेदन नलिएको र सरकारी वकिलको कार्यालयले पनि निवेदन लिन नमानेको उनको भनाइ छ । उनीहरू घटनामा संलग्न व्यक्तिलाई कारबाही हुनुपर्ने र उपचार खर्च उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले निवेदन लिन नमानेको भनेर भ्रम छर्ने काम गरेको बताए ।

‘दुबै जनाको रक्सि खाने क्रममा विवाद भएछ । महतोले नै अर्को व्यक्तिलाई सुरुमा हानेका रहेछन्’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘त्यसपछि अर्को व्यक्तिले लठ्ठी टिपेर हान्दा चोट लागेको रहेछ । धारिलो हतियार प्रहार हैन ।’

उनले जाहेरी समयमा नआएको र ढिलो भएका कारण अर्को दिन आउनु भनेर पठाएपनि नआएको बताए । उनीहरूलाई पटक–पटक फोन गरेर बोलाउँदा पनि नआएको उनको भनाइ छ ।

‘अर्को पक्षलाई बोलाएर राखेका थियौँ’, उनले भने, ‘तर, महतो पक्षबाट कोही आएनन् । त्यसपछि वडाध्यक्षसँग समन्वय गर्दा आन्तरिक रूपमा मिलाउँछौँ, मिल्ने कुरा नै छ भन्नुभयो । हामीले पनि मिल्छ होला भन्ने सोच्यौं । तर ६ बजे राति जोहेरी दिन आउँदा भोलि आउन भन्दा जाहेरी लिन मानेन भन्न मिल्दैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!