रबिन कटेल/संगालोखबर

धनकुटा । मोरङको बेलबारी फुटबल क्लबका खेलाडीले आत्मघाती गोल गर्दा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । तल्लो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारीलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल पुगेको हो ।

Advertisement

निर्धारित ९० मिनेटको खेलमा दुवै टिम २-२ गोलको बराबरीमा थिए । खेलमा थपिएको अतिरिक्त ४ मिनेटको समयमा बेलबारीका विकु राईमार्फत आत्मघाती गोल हुँदा एपीएफ विजयी बन्यो ।

बेलबारीका खेलाडीसँग ठोक्किएर एपीएफका खेलाडी लडेपछि एपीएफले फ्री किकको अवसर पायो । सोही फ्री किकलाई बेलबारीका डेनियल कोक्हुले हेड गरेर फर्काए । तर, विकुको टाउकोमा ठोक्किएर व्याक पास भएको बलले आफ्नै पोष्टको जाली चुम्यो । सोही गोल एपीएफलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्दा बेलबारी प्रतियोगिताबाट बाहिरिनु परेको छ ।

खेलको ७ औं मिनेटमा एपीएफका टिम क्याप्टेन हरि कार्कीले गोल गर्दै टिमको खाता खोलेका थिए । ३३ औं मिनेटमा एपीएफकै युवराज खड्काले गोल थप्दै टिमलाई २-० ले अग्रता दिलाए । यता, बेलबारीका भुवन बस्नेतले ३६ औं मिनेटमा गोल गरेर टिमको खाता खोल्दै खेललाई २-१ को अवस्थामा ल्याए । खेलको पहिलो हाफको ‘इन्जुरी टाइम’ मा बेलबारीका तर्फबाट विदेशी खेलाडी डेनियल कोक्हुले गोल थपेपछि खेल २-२ गोलको बराबरीमा पुगेको थियो । बराबरी अवस्थामा दुवै टिमबीच कडा प्रतिष्पर्धा चलिरहेका बेला अन्तिममा आत्मघाती गोल निर्णायक बन्न पुगेको हो ।

खेलको म्यान अफ द म्याच विजेता टिम एपीएफका युवराज खड्का घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाएका छन् । अब, भोलि हुने पहिलो सेमिफाइनल खेलमा साविक विजेता बिर्तामोड युनाइटेड क्लब झापा र सप्तरीको नमोबुद्ध युथ फुटबल क्लब आमनेसामने हुने प्रतियोगिताका संयोजक शम्भु प्रधानले बताए ।

उद्घाटन खेलमा आयोजक धनकुटालाई ३-१ गोल अन्तरले हराउँदै नमोबुद्धले सेमिफाइनलको यात्रा तय गरेको हो भने तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड सेमिफाइनल पुगेको हो ।

पहिलो सेमिफाइनल खेल भोलि दिउँसो ३ः३० बजेबाट सुरु हुने प्रतियोगिताका म्याच कमिस्नर गोविन्द राईले जानकारी दिए ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!