धनकुटा । साविक विजेता बिर्तामोड युनाइटेड क्लब झापालाई पराजित गर्दै नमोबुद्ध युथ फुटबल क्लब सप्तरी सहिद भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।
नमोबुद्धलाई जित दिलाउन टिम क्याप्टेन सिर्जनराज गौतमले दुई र मोहित गुरुङले एक गोल गरे । खेलको १४ औं मिनेटमा मोहितले गोल गर्दै नमोवुद्धको खाता खोले । २० औं मिनेटमा नमोबुद्धका टिम क्याप्टेन सिर्जनराजले गोल थपे । २६ औं मिनेटमा बिर्तामोडका टिम क्याप्टेन गिल्सन कन्दङ्वाले गोल फर्काउदै खेललाई २-१ को अवस्थामा पुर्याए ।

खेलको अन्तिम ९० औं मिनेटमा नमोबुद्धका टिम क्याप्टेन सिर्जनराजले पुनः अर्को गोल गर्दै टिमलाई फाइनलमा पुर्याउन सफल भएका हुन् । दुई गोल गर्ने सिर्जन खेलको म्याद अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
अब, भोलिको दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेलमा एपीएफ क्लब काठमाडौँ र गाइघाट फुटबल क्लव भिड्ने आयोजकले जनाएको छ ।