
विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ मा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय मनोज कुमार चौधरी, इटहरी-६ का २३ वर्षीय सनम तामाङ, इटहरी-२ का २७ वर्षीय निरज लिम्बु र २२ वर्षीय सन्दीप मगर, रामधुनी-९ का १६ वर्षीय आदित्य चौधरी, रामधुनीकै २६ वर्षीय मनिष चौधरी, धरान-१७ का २८ वर्षीय बेगराज लिम्बु र ३४ वर्षीय सागर राई, तथा रामधुनी-५ का २६ वर्षीय विज्ञान साह रहेका छन् ।
उनीहरूको साथबाट विभिन्न परिमाणको ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सुनसरीको हरिनगर-१ स्थित प्रहरी चौकी भुटाहाबाट खटिएको टोलीले २० वर्षीय प्रकाश कुमार दास र २२ वर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागूऔषध नाइट्राजेपाम १२० ट्याब्लेटसहित पक्राउ गरेको छ ।
झापाको बिर्तामोड-४ स्थित नयाँ बसपार्कमा गस्तीमा रहेको प्रहरी टोलीले ३२ वर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।