नेकपा एमाले धनकुटा जिल्ला कमिटीको ८ औं अधिवेशन रोचक ढङ्गले समापन भयो । रोचक यस अर्थमा थियो कि, यो अधिवेशनलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शेरधन राई र अर्का केन्द्रिय सदस्य एवम् खानेपानी मन्त्री राजेन्द्र राई बीचको प्रतिस्पर्धाको रुपमा पनि लिइएको थियो । शेरधन पक्षबाट निरेन तामाङ अध्यक्षका उम्मेद्वार थिए भने राजेन्द्रको पक्षबाट शिव आङ्ला मैदानमा उत्रिएका थिए । पार्टीका निवर्तमान जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको दरिलो साथमा मैदान उत्रिएका निरेनको पदाधिकारी टिममाथि भारी मतले विजयी हुँदै शिव आङ्लाको टिमले पदाधिकारीमा क्लिन स्वीप गरेको छ । आङ्लालाई निवर्तमान पार्टी सचिव एवम् प्रदेशसभा सदस्य निरन राईको पनि साथ थियो । पदाधिकारी बाहेक अन्य पदमा भने मिश्रित नतिजा आएको छ ।

निर्वाचन हुनुभन्दा केही दिन अघिदेखि नै धनकुटामा डेरा जमाएर निरेनको पक्षमा माहोल बनाउन लागेका शेरधनलाई धनकुटाको राजनीतिका चतुर खेलाडी राजेन्द्र कुमार राईले हिस्स पारेका छन् । जेठ १२ गते नेकपा एमालेका उपाध्यक्ष डा. युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनलाई एमालेको विशाल कार्यकर्ता पंक्तिले उत्सुकताका साथ नियालेका थिए । सातौँ अधिवेशनमा राजेन्द्र राईको पल्ला भारी हुँदा पनि निर्वाचन हुन नदिएर सर्वसम्मत जिल्ला कमिटी गठन भएको थियो र धेरै कार्यकर्ताहरूको अन्तिमसम्मको आशा पनि निर्वाचन नभएर सहमति भइदिए राम्रो हुन्छ भन्ने थियो । सहमतिको प्रयासहरू लगातार भएतापनि दुवै समूह आफ्नो जित हुने कुरामा ढुक्क भएकाले पनि अधिवेशन चुनाव तर्फ मोडिएको थियो ।

Advertisement

निरेनको प्यानलबाट उपाध्यक्षमा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, सचिवमा छथर जोरपाटी गाउँपालिकाका पूर्व अध्यक्ष शेरबहादुर लिम्बू उपसचिवमा शिक्षण पेशाबाट निवृत्त गोपाल भट्टराई र अनेमसंघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङ (तारा) थिए । शिव आङ्ला पक्षबाट उपाध्यक्षमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, सचिवमा महालक्ष्मी नगरपालिकाका पूर्व मेयर पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राई थिए, उनीहरु विजयी पनि भए । निरेन प्यानललाई जिताउन नेताहरु शेरधन, इन्द्रमणिसँगै कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ पनि खुलेरै लागेका थिए ।

अधिवेशनमा आफ्नो पक्षमा माहोल पार्न दुवै पक्ष सक्रिय रुपमा लागे । चुनावी प्रचारमा दुवै पक्षले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका थिए । चुनाव ताका परम्परागत शैलीमा आफ्नो हाते प्रचार पनि बाढ्न भ्याए । सतहमा शिव आङ्लाको जित भएतापनि धेरै कार्यकर्ता र राजनीतिक सुझबुझ राख्नेहरू ‘राजेन्द्र राई फ्याकटर’ हावी भएको बताउँछन् । खानेपानी मन्त्री राईको टोलदेखि, वडा, पालिका हुदै जिल्लाभरको प्रभावलाई यो निर्वाचनमा राम्रो क्याच गरेको देखिन्छ । त्यो भन्दा बढी मन्त्रीको प्रभाव त पर्ने नै भयो । सात स्थानीय तह मध्ये ६ वटा स्थानीय तहका पार्टी कमिटी अध्यक्षहरु आफ्नो हातमा लिएर बसेका राईलाई माहोल आफ्नो पक्षमा पार्न सहजै थियो । अर्कोतिर सालिन, समझदार र लामो समय मदन भण्डारी फाउण्डेसनको जिल्ला अध्यक्ष भएर काम गरेको र हाल जिल्ला समन्वय समितिको प्रमुख भएकाले आफ्नो पक्षमा माहाले आउनेमा निरेन पनि विश्वस्त थिए ।

निर्वाचनमा आङ्ला पक्षले साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गर्यो । आम कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन कुनै कसर बाँकी राखिएन । सहिदभूमि बाहेक ६ पालिकाका पार्टी कमिटी अध्यक्षहरु सक्रिय हुँदा चुनावको समयसम्म आइपुग्दा निरन तामाङ रक्षात्मक बन्न पुगेका थिए ।

तत्कालिन समयमा नेकपालाई अदालतले पहिलेको अवस्थामा फर्काएपछि माओवादी छोड्दै नेकपा एमालेमै रहेका नेता कार्यकर्ताहरूलाई यो अधिवेशनले एउटा साहस पैदा गरेको छ । बहुसंख्यक एमालेको पृष्ठभूमिबाट आएका प्रतिनिधिहरू हुँदा समेत पूर्व माओवादीबाट आएकी तुलसी राईले चुनाव जित्नुलाई पार्टीभित्र माओवादीबाट आएकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको आभाष भएको छ ।

शिव आङ्लाको अवसर र चुनौतीहरू:

एमाले धनकुटाको राजनीतिमा केन्द्र भागमा रहेतापनि पार्टीको महत्वपूर्ण अवसरमा छुट्ने गरेका नेता शिव आङ्लालाई पीडित नेताको रुपमा हेर्ने गरिन्थ्यो । स्थानीय तहको पहिलो चुनावमा नै बलियो आकांक्षी रहेका आङ्लालाई विभिन्न प्रोपोगण्डाको शिकार बनाउँदै गाउँपालिका अध्यक्षको रेसबाट पछि पारिएको थियो । जस्तो सुकै परिस्थितिमा पार्टीको काममा खटिने आङ्लाका लागि पार्टीको नियमावलीले फाइदा पुर्यायो । कार्यकारी पदमा रहेकाहरु पार्टीको अध्यक्ष वा सचिव हुन नपाउने नियमावली नै आङ्लाका लागि अध्यक्ष हुने ‘टर्निङ प्वाइन्ट’ बन्यो । प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, पालिका प्रमुख र वडाध्यक्षले पार्टीको कार्यकारी पद अर्थात अध्यक्ष र सचिव बन्न नपाउने प्रावधानका कारण निर्वतमान अध्यक्ष इन्द्रमणि पराजुली, निरन राई तथा चिन्तन तामाङ त्यो रेसबाट बाहिरिए । राजेन्द्र राई पक्षबाट शिव आङ्ला एक मात्र उम्मेदवारको रुपमा अघि बढे र जित निकाल्न सफल भए ।

अब, नवनिर्वाचित अध्यक्ष आङ्लाका लागि धेरै अवसर र चुनौतीहरू छन् । पार्टीले अगाडि बढाएको मिसन ८४ लाई सफल बनाउँन धनकुटाका सातै तह, प्रदेश र संघमा विजय हासिल गर्दै पुनः धनकुटामा एमालेको क्लिन स्वीप गराउँनु पर्ने चुनौति उनका सामु छ । बेलाबेलामा उठ्ने गरेको पहिचान पक्षधरको आन्दोलनलाई पनि चिर्दै पार्टीलाई अगाडी बढाउनु पर्ने चुनौति पनि छ । जिल्ला कमिटीमा ठूलो सङ्ख्यामा युवाहरूको प्रतिनिधित्व रहेकाले युवाहरूलाई पार्टीतर्फ आकर्षित गर्दै अगाडि बढ्ने अवसर पनि उनका सामु छ ।

निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्नुपर्ने निकै ठूलो चुनौती पनि छ । निर्वाचित भएपछि आङ्लाले विज्ञप्ति जारी गरेर सबैलाई समेट्दै अघि बढ्ने प्रतिवद्धता जनाएपनि चुनावको तुष मेटिन समय लाग्नेछ । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दै दक्षिणपन्थी अवसरवादबाट जोगाउन सिङ्गो एमाले लागेका बेला धनकुटा एमालेलाई पनि त्यही उचाइमा पुर्याउन उनको सक्रियता जरुरत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!