प्रकाशित: २०८१ साउन ०३ , २१:२५
इलाम । प्रतिनिधिसभाका युवा सांसद सुहाङ नेम्बाङ संसदको बैठक नभएको मौकामा आफ्नो क्षेत्र इलाम–२ को भ्रमणमा छन् ।
आफ्नो क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलमा पनि उनी सक्रिय भएका छन् ।
यसै क्रममा उनले आफ्नो क्षेत्र घुम्दा गरेको अनुभव पनि सार्वजनिक गरिरहेका छन् । विकास, निर्माणको काम सोचेजस्तो हुन नसकेको ठानेका उनले आज सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्– हाम्रो विकास, समृद्धिको बाधक के हो ? को हो ?
प्रस्तुत छ, सुहाङको धारणा जस्ताको तस्तै-
आज दिन भर माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष हेमन्त राईज्यूसँगै माङसेबुङ्गको विभिन्न ठाउँमा पुग्यौं । तस्बिरमा देखिएको दृश्य फाल्गुनन्द (दमक–चिसापानी) सडकको हो ।
यदि सम्झौता अनुसार निर्माण भएको भए दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर यो सडक आज कालोपत्रे भइसकेको हुन्थ्यो । पिच रोडमा पहाडबाट तरकारी बोकेर तराई झरिरहेका गाडीहरु झरिरहेका हुन्थ्यो । तराईबाट सर समान बोकेर उक्लिरहेको देखिन्थ्यो ।
इलामको दक्षिण–पश्चिमी क्षेत्रका मात्रै होइन पाँचथरका जनताको समृद्धिको सपनासँग जोडिएको २ फागुन २०७९ मा निर्माण भइसक्नु पर्ने थियो । तर, पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माण पुरा नगरेपछि ठेक्का तोडिएको छ । सडक निर्माण अलपत्र छ ।
यो सडक हुँदै दमकबाट पाँचथरको रवि पुग्न ४७ किलोमिटर छ । तर हाल प्रचलनमा रहेको मेची राजमार्ग हुँदै इलाम–राँके बजार पुग्दा १७८ किलोमिटरको दूरी पार गर्नु पर्ने बाध्यता छ ।
ल हिसाब गर्नुहोस् त ! ४७ किलोमिटर भएर तराई झरीपुग्ने पहाडको तरकारी १७८ किलोमिटर घुम्दा कस्तो हुन्छ ? तराईबाट ४७ किलोमिटरमा पहाड उक्लने उपभोग्य सामग्रीहरु कति महङ्गो हुन्छ ?
यही सडकको हिलाम्मे तस्बिर राखेर मलाई धेरैले सोध्नुहुन्छ, ‘फाल्गुनन्द किन कालोपत्रे भएन मान्यज्यू ?’
यो सडक हिलाम्ये बन्दा गाली सबै तहका जनप्रतिनिधिहरुले खाएका छौं । तर, गालीको हकदार हामी मात्रै हौं त ?
यसपाली यो सडकको दुर्दशा देखेपछि मेरो मनमा प्रश्न छ, ‘हाम्रो विकास–समृद्धिको सबैभन्दा ठुलो बाधक के हो, को हो ?’