विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । मोरङ प्रहरीले दिएको जानकारीअनुसार ११ क्विन्टल भन्दा बढी गाँजा बरामद भएको हो ।
प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले एक हजार एक सय दुई किलो गाँजा बरामद भएको जानकारी दिएका छन् । गाँजा जहदा गाउँपालिका-७ का २७ वर्षीय उमेश कामतको घरमा फेला परेको हो ।
प्रहरीले विशेष सूचनाका आधारमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरि दिउँसो साढे १ बजेतिर कामतको घरमा छापा मारेको थियो । सोही क्रममा कामतलाई पक्राउ गरिएको प्रहरीले छ ।
त्यस्तै, जहदा-५ का ३३ वर्षीय अरविन साहको घरबाट पनि १४ किलो गाँजा बरामद भएको छ । इन्स्पेक्टर खनालको टोलीले दिउँसो २ बजेतिर साहको घरमा छापा हानेपछि गाँजा बरामद गरी साहलाई पनि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बरामद भएको गाँजा भारततिर तस्करी गर्ने उद्देश्यले राखिएको हुनसक्ने आशङ्का गरिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले धनकुटाबाट गाँजा तस्करी भएको खुलेको छ ।