संसार अस्तित्वको प्रकट अभिव्यक्ति हो । अस्तित्व अद्वैत (नन डुअल) अपरिवर्तनीय र शास्वत (नित्य) छ भने संसार सतत परिवर्तनशील, अनित्य र द्वैत (डुअल) अर्थात् ऋण र धन (निगेटिभ र पोजेटिभ) तत्वको जोडको रूपमा छ । त्यसैले संसार विभिन्न तत्वहरूको संयोग (जोड) हो भने अस्तित्व ती सबै तत्वहरूको पनि आधार र कारणरूप तत्व हो ।
संसारमा जे पनि प्रकट रूपमा अस्तित्ववान हुन्छ त्यो संयोगको रूपमा हुन्छ । संयोगबाट निर्मित बस्तु अनिवार्य रूपमा हुन्छ त्यो संयोगको रूपमा हुन्छ । संयोगबाट निर्मित बस्तु अनिवार्य रूपमा वियोग (डिकम्पोजिसन) मा जाने भएकाले बन्ने र भत्कने क्रम निरन्तर हुन्छ । यही प्रकृतिको नित्य नियम र प्रक्रियालाई सृष्टि र प्रलय भनिन्छ । तर यो अनित्य, परस्परनिर्भर र परिवर्तनशील संसारमा जे पनि हुन्छ वा घटना घट्छ त्यसलाई कर्म भनिन्छ र त्यो कर्मको मूल कारण प्रकृति नै हुन्छ यद्यपि त्यो कर्मको घटना प्रकृतिले पदार्थ र जीवको माध्यमद्वारा नै घटाउ“छ । त्यसैले कर्मबाट अनिवार्य रूपमा प्रतिक्रियाको जन्म हुन्छ अनि क्रिया प्रतिक्रियाको चक्रको परिणाम नै संसार हो, कर्म हो । अथार्त कर्मको माध्यमद्वारा संसारलाई परिवर्तन गर्न र अनुकूल बनाउन सकिन्छ । यही संसार परिवर्तनको विज्ञानलाई पदार्थ विज्ञान (साइन्स) भनिन्छ ।
तर संसारको अनि प्रकृतिको पनि आधार र कारणको रूपमा रहेको अस्तित्व भने स्वनिर्मित, स्वप्रकाशित, स्वनिर्भर र अपरिवर्तनीय छ भन्ने कुरालाई विज्ञान र अध्यात्म दुबैले एकस्वरमा स्वीकार गरेका छन् । विज्ञानले पदार्थको अन्तिम रूप अर्थात् विद्युतलाई नै अस्तित्व मानेको छ हालसम्म, जबकि अध्यात्मले चेतना वा चैतन्य ऊर्जालाई अन्तिम एकल तत्व मान्दछ । विज्ञान र अध्यात्म दुबैले यो ऊर्जा तत्वलाई अद्वैत (एकल) र स्वनिर्मित मान्दै यो तत्वलाई कर्मको माध्यमद्वारा सिर्जना र विनाशको चक्रमा लैजान नसकिने कुरा स्वीकार गरेका छन् । अर्थात् कर्मद्वारा संसारको प्रकटरूपलाई परिवर्तन गर्न सकिने तर यो संसारको कारण र आधारको रूपमा रहेको अस्तित्व ऊर्जालाई कर्मद्वारा परिवर्तन गर्न नसकिने तथ्यलाई विज्ञान र अध्यात्मक दुबैले एकमतले स्वीकार गरेका छन् । यसबाट के कुरा प्रष्ट हुन्छ भने जुन संसारमा हामी छौं यो संसारको कारण र आधारको रूपमा रहेको अस्तित्वगत ऊर्जा स्वनिर्मित, स्वनिर्भर र अपरिवर्तनीय भएकाले हामीले गर्ने कुनै पनि कर्मको असर अस्तित्वमा नपर्ने कुरा शास्वत सत्यको रूपमा स्वीकृत भइसकेको कुरा हो । अर्थात् अस्तित्व स्वनिर्भर, स्वनिर्मित र अपरिवर्तनीय छ भन्ने कुरा अध्यात्मको मात्र होइन विज्ञानको पनि निष्कर्ष हो । विज्ञानको खोज ऊर्जासम्म मात्र सीमित रहेको र विज्ञान खोजको बाटोमा निरन्तर अघि बढिरहने भएकाले संसारको आधार र कारणको रूपमा रहेको ऊर्जा (विद्युत) तत्व चैतन्य ऊर्जा हो कि होइन भन्ने कुरामा विज्ञान निष्कर्षमा पुगिसकेको छैन यद्यपि अस्तित्वको अद्वैत अवस्था विज्ञानका लागि पनि शास्वत सत्यको रूपमा स्थापित भइसकेको छ । यस अर्थमा अध्यात्म विज्ञान भौतिक विज्ञान भन्दा अगाडि छ । किनकि अध्यात्मले अस्तित्वलाई चैतन्य ऊर्जाको रूपमा निष्कर्षगत रूपमा नै स्वीकार गरेको छ । अध्यात्मको यो निष्कर्ष विज्ञानको ज्ञानझै इन्द्रियहरूको सहायताले प्राप्त गरेको ज्ञान नभएर खोजकर्ताको हृदयको अनुभव हो । हामी सबैलाई थाहा छ सूचना र जानकारीस“ग सम्बद्ध तथ्यलाई शब्दद्वारा सम्पूर्ण रूपमा व्यक्त गर्न सकिन्छ जबकि हार्दिक अनुभूतिजन्य तथ्यलाई शब्दद्वारा सम्पूर्ण रूपमा व्यक्त गर्न सकिदैन त्यसैले त विज्ञानलाई शिक्षाद्वारा जान्न सकिन्छ तर अध्यात्मलाई जान्न स्वयम् अनुभूति नगरी हुँदैन ।
तर जे भए पनि कर्मद्वारा अस्तित्वलाई परिवर्तन गर्न सकिदैन भन्ने कुरामा विज्ञान र अध्यात्म दुबै एकमत रहेको तथ्य आज हाम्रो सामु छ । यही स्वनिर्मित, स्वतन्त्र (स्वयम्मा आधारित) र अपरिपर्तनीय अस्तित्वलाई अध्यात्मले परमात्मा वा संसारको अन्तिम आधार भनेको हो जसलाई पछि गएर ईश्वर वा भगवान तत्वको रूपमा जनमानसले मान्दै गएको हो । यो ब्रह्माण्डको प्रकट अस्तित्वको आधार त्यही अस्तित्व भएकाले सबै प्रकट रूपहरू (पदार्थ, जीव, वनस्पति) एउटै अस्तित्वका विभिन्न रूपहरू हुन् भन्ने कुरा पनि स्थापित र स्वीकृत सत्य भइसकेको छ । यही सत्यलाई स्वयम् अनुभूत गर्न उत्प्रेरित गर्ने ज्ञानको विधालाई नै अध्यात्म भनिएको हो । त्यसैले अध्यात्म भनेको आधारभूत र मौलिक स्वभावको स्वयम्ले गर्ने अनुभूति हो । यही अनुभूतिजन्य बोध (ज्ञान)लाई अध्यात्मले धर्म भनेको हो । त्यसैले दुनियाले भन्ने गरेको धर्म, ईश्वर, भगवान् जस्ता शब्दहरू त्यही अद्वैत अस्तित्वका पर्यायवाची शब्दहरू हुन् । अर्थात् धर्म, अस्तित्व र ईश्वर अलग अलग कुरा होइनन् एउटै अद्वैत अस्तित्वका फरक शाब्दिक अभिव्यक्ति मात्र हुन् । विज्ञान र अध्यात्मको अस्तित्वस“ग सम्बन्धित समान निष्कर्षलाई जस्ताको तस्तै रूपमा जान्ने र जानेर अनुभूति गर्ने हो भने धर्म भन्ने शब्दले कर्मलाई होइन अस्तित्वलाई संकेत गरेको कुरा विलकुल प्रष्ट हुन्छ । अर्थात् धर्म कुनै हालतमा पनि कर्म होइन । बरू प्रकट रूप भएका हामी मान्छेहरू स्वतः धर्म अर्थात् अस्तित्वको प्रकट रूप नै हो । त्यसैले हामीले गर्ने कुनै पनि कर्मद्वारा त्यो अस्तितव अथवा हाम्रो आफ्नै पनि अस्तित्वगत आधार (विइङ्ग)लाई हामी कुनै हालतमा पनि प्रभावित गर्न सक्दैनौं । अर्थात् हामीले गर्ने कर्मबाट हाम्रो धर्म वा अस्तित्व (विइङ) सदा अछुत (अनटच्ड) नै रहन्छ ।
यो उपनिषदका ऋषिहरू वा दुनिया“ले ईश्वरको रूपमा स्वीकार गरेका बुद्धपुरूषहरूको निजी अनुभूति मात्र होइन विज्ञानले सार्वजनिक रूपमा प्रमाणित गरेको तथ्य पनि हो । तर हामी गजब छौं । हामी न त विज्ञानले प्रमाणित गरेको तथ्यलाई अस्वीकार गर्ने हिम्मत गर्दछौं न त अध्यात्म विज्ञानलाई कल्पना मात्र हो भन्ने आँट नै गर्दछौं तर व्यवहारमा भने कर्मको माध्यमद्वारा धर्म गर्ने अत्यन्त असम्भव कुरा गरेर कर्मलाई नै धर्म भनिरहेका छौं । हामीले जानेको कुरा के हो भने कर्म गरिन्छ अर्थात् कर्म गर्न सकिन्छ । तर धर्मलाई कर्म बनाउनुभन्दा असम्भव र पत्याउन नसकिने अर्काे कुरा छैन । किनकि धर्म भनेको अस्तित्व हो अनि अस्तित्व हाम्रोे स्वभाव हो । हामी हाम्रो अस्तित्वगत स्वभावलाई हामीले गर्ने कर्मद्वारा कुनै हालतमा पनि प्रभावित गर्न सक्दैनौं । हो, हामी अस्तित्व वा धर्मको अनुभूति आफै आफ्नै हृदयको माध्यमद्वारा गर्न सक्दछौं । अर्थात् हामी स्वयम्मा स्वयम्कै प्रयासद्वारा अस्तित्वको अनुभूति जन्य ज्ञान गर्न वा जान्न सक्दछौं । त्यसैले धर्म गरिने कुरा होइन यद्यपि जान्नै पर्ने र जान्न सकिने कुरा भने पक्कै हो । तर हामीले धर्मलाई विशुद्ध कर्म बनाएका छौं, ज्ञान वा बोध होइन ।
यही कारणले गर्दा संसारमा धर्मका नाममा जति जति कर्महरू बढ्दै गए पनि मानिसको व्यवहारमा आधारभूत रूपमा सकारात्मक परिणाम आउनुको सट्टा मानिस महत्वाकांक्षाको उडानमा यसरी उड्दै गएको छ कि मान्छेले धर्म र विकासका नाममा गरिरहेका कर्मका श्रृङ्ख्लाहरूले मानिस मानिस बीचको दूष्मनि बढाइरहेको छ, मान्छेका कर्महरू प्रकृतिमैत्री होइन प्रकृतिविरोधी भइरहेका छन् अनि धर्म र विकास (समृद्धि) का नाममा कर्ममा संलग्न मान्छे स्वयम् दिनप्रतिदिन , असन्तुष्ट, चिन्तित र अशान्त हुँदै गएको छ । अर्थात् मान्छेले धर्मका नाममा गर्ने कर्मले उसको शोच, व्यवहार र सम्बन्धलाई समेत सकारात्मक दिशामा परिवर्तन गर्न सकेको छैन भने आफ्नै अस्तित्वलाई परिवर्तन गर्ने त सवाल नै भएन । अर्थात् मान्छे धर्मका नाममा कर्मको जालमा यसरी फस्दै गएको छ कि आफ्नै कर्मले आफैलाई माकुराको नियतिमा फसाउ“दै गरेको तथ्यलाई स्वीकार गर्ने हिम्मत पनि गर्न सकेको छैन भने धर्म अर्थात् अस्तित्वलाई आफैले आफ्नै अनुभवद्वारा जान्नु चाहिं मान्छेको सनातन वा मौलिक धर्म हो भन्ने कुरा जान्ने कुरा त धेरै परको कुरा हो । जबकि धर्म भनेको बोध वा जागरण वा जान्नु हो भने कर्म भनेको भौतिक परिवर्तनको आधार मात्र हो । उद्घोष दैनिक