काठमाडौँ, १० कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालले आफुहरुलाई समग्रमा ५५ र २ नम्बर प्रदेशमा २३ सिट नदिए काङ्ग्रेससँग चुनावी तालमेल नगर्ने चेतावनी दिएका छन् । राजपा र फोरमको यो चेतावनीपछि काङ्ग्रेसले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नातर्फका उम्मेदवार छान्न सुरु गरेको छ ।

Advertisement

राजपा र संघीय समाजवादी फोरमले ५५ सिटको दावी नछोडेपछि नेपाली काङ्ग्रेसलाई चुनावी तालमेल कठिन र महङ्गो पर्ने भएकाले आफ्नातर्फका उम्मेदवार छान्न थालेको हो । बिहीबारमात्रै २२ जना शीर्ष नेताको टुङगो लगाएको काङ्ग्रेसले शुक्रबार पनि संसदीय समितिको बैठक बोलाएर थप उम्मेदवार र निर्वाचन क्षेत्र तय गर्दैछ ।

पहिलो चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुने ३२ जिल्लामध्ये सिन्धुपाल्चोक र गोरखामा काङ्ग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग चुनावी तालमेल गरिसकेको छ ।

यो बाहेक सरकार समर्थक दुवै राप्रपा, राजपा, संसफोसँग चुनावी तालमेल गर्न लागि परेको काङ्ग्रेसलाई सहयात्री दलहरुलाई चित्त बुझाउन फलामका च्युरा चपाएसरह हुने भएपछि लोकतान्त्रिक गठबन्धन नबन्ने पक्का हुनुका साथै चुनावी तालमेलसमेत सहजै नहुने देखिएको छ ।

काङ्ग्रेस नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबन्धनका लागि गठित ६ दलको कार्यदलमा रहेका काङ्ग्रेसका विमलेन्द्र निधिले राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग सिट संख्याबारे मोटामोटी सहमति भैसकेको बताए ।

‘राजपा र संघीय समाजबादी फोरमसँग पनि सहमतिको नजिक पुगिएको छ तर, सहमति नै भने भैसकेको छैन । बार्ता र छलफल जारी राख्ने र कार्तिक १४ भित्र सहमति जुटाउने प्रयास भइरहेको छ’, निधीले रातोपाटीसँग भने,‘सायद एकदुई दिनमै टुंगिएला ।’

संघीय समाजबादी फोरमका नेता तथा संसफोका तर्फबाट कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठले कार्यदलस्तरमा भएका छलफल सकारात्मक भएको भन्दै पछिल्लो समय काङ्ग्रेस केही लचक बनेको प्रतिकृया दिए ।

उनले दुई पक्षीय र त्रिपक्षीय छलफल जारी नै रहेको भन्दै राजपा र फोरमको ५५ सिटे अडान यथावत रहेको पनि बताए । श्रेष्ठले भने ‘ गठबन्धन त बन्दैन नै काङ्ग्रेसले हामीसँगको चुनावी तालमेल गर्छ भने हामीलाई ५५ सिटको सुनिश्चित हुनुपर्छ नत्र तालमेल पनि हुँदैन ।’

श्रोतका अनुसार काङ्ग्रेस र राजपा–फोरमबीच चुनावी तालमेल तथा एकले अर्कोलाई सघाउने सहमति भएपनि २ र ५ नम्बर प्रदेशमा कुरा नमिलेपछि सहमति हुन नसकेको हो ।

राजपा र फोरमले २ नम्बर प्रदेशका ३२ सिटमध्ये २३ सिट मागेका छन् । राजपा फोरमले ३२ मध्ये २३ सिट दुइदललाई दिन र ९ सिट काङ्ग्रेसलाई राख्न प्रस्ताव गरेका छन् । तर, काङ्ग्रेस २ नम्वरमा त्यति धेरै सिट दिन तयार भैसकेको छैन ।

काङ्ग्रेसले गत असोज तेस्रो साता चुनावी तालमेलसँगै लोकतान्त्रिक गठबन्धन बनाउन भन्दै राजपा, संघीय समाजबादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरमका प्रतिनिधिसहितको एक कार्यदल बनाएको थियो । फोरम लोकतान्त्रिक काङ्ग्रेसमै मिलिसिकेकाले अव उसको गठबन्धनमा कुनै हिसाव नरहेको पनि श्रेष्ठले बताए ।

उक्त कार्यदलको पटक पटकको बैठकमा सिट संख्या र क्षेत्र बाँडफाँडमा राजपा र संघीय समाजबादी फोरमले राखेको प्रस्तावलाई काङ्ग्रेसले सहमति जनाउन नसकेपछि दलहरु आ–आफ्नै तरिकाले उम्मेदवार छान्न लागि परेका हुन् । कार्यदलस्तरको बैठक आज (शुक्रबार ) पुन बस्ने र थप छलफल हुने कार्यदल सदस्य मिनेन्द्र रिजालले बताए ।

कार्यदलस्तरमा शक्ति र क्षममताका आधारमा तालमेल गर्नुपर्ने प्रस्ताव राजपा र संघीय समाजवादी फेरमले प्रस्ताव गर्दै प्याकेजमै सबै सहमति खोज्ने प्रयास भएको राजपाका नेता सवेन्द्रनाथ शुक्लाले बताए ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!