संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

Advertisement

महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ ।

साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरिएको हो । यसरी कार्यक्रम आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने उपमेयर कार्कीको भनाइ छ ।

पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ ।

यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपमेयर कार्कीको भनाइ छ । उपमेयर कार्कीले परिवार संवादलाई अझै व्यापक बनाउने लगिने बताइन् ।

श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्यूनीकरण हुने उनको भनाइ थियो । आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपानेले बताए ।

यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने न्यौपानेले दाबी गरे । वडाध्यक्ष राम पोखरेलले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गरे ।

विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिए ।

त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!