मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ ।

Advertisement

वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने जवाफ हो, ‘नाला सफाइ ।’

तर, सफा गरिएका नालाबाट सहजै पानी निकास हुँदैन । नालाको बीचमा भएका बिजुलीका खम्बा, निर्माण कार्य ठाउँठाउँमा अलपत्र छाडिनु र अन्य विभिन्न कारण छन् ।

विराटनगरबासी बाढी तथा डुबान नियन्त्रणका लागि महानगरले विगतमा गर्ने गरेको पूर्वतयारी र हालको पूर्वतयारीका विषयमा सन्तुष्ट देखिँदैनन् । विराटनगर–११ धुदुवा टोलका दिनेश सहनी महानगरले पूर्वतयारीका लागि कुनै काम नगरेको बताउँछन् । वर्षौंदेखि नहर सफाइ नहुँदा वर्षायाममा बस्ती नै डुबानको चपेटामा पर्ने गरेको उनको गुनासो छ ।

चुनावताका घोषणा पत्रमा नै डुबानको समस्या समाधान गर्छौं भनेर प्रचार गर्ने जनप्रतिनिधिले चुनाव जितेपछि त्यतातिर ध्यान दिन नसकेको उनले बताए । उनी भन्छन्, ‘बर्खाको समयमा हाम्रो बिचल्ली हुन्छ । अहिले समय छँदै महानगरले नहर सफा गरिदिए केही हदसम्म राहत पाउने थियौँ ।’

वर्षौंदेखि नहर सफा नहुँदा बजारबाट बगेको फोहोर धुदुवामा जम्मा भएको छ । जसका कारण सो क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सहनी भन्छन्, ‘नहर सफा नहुँदा डुबानको समस्या मात्रै हैन दुर्गन्धका कारण हैरानी हुन्छ, झिँगा र लामखुट्टेले पनि दुःख दिने गरेका छन् ।’ महानगरले यस विषयमा ध्यान दिन नसकेको उनको भनाइ छ ।

सोही स्थानकी रिता कामतको गुनासो पनि उस्तै छ । उनी भन्छिन्, ‘बाढी आएको समयमा हप्ता दिनसम्म अरुको घरमा बस्नुपर्ने अवस्था आउँछ । घरमा पालेका पशुपंक्षीलाई पनि बाढीले बगाएर लग्छ ।’

बजारको फोहोरसमेत आएर जम्मा हुने धुदुवा ५–६ वर्ष अगाडि एकपटक सफा भएको उनी सम्झन्छिन् । त्यसपछि भने महानगरपालिकाले अहिलेसम्म सफा नगर्दा वर्षामा डुबानसँगै अन्य समयमा दुर्गन्धले बस्न समस्या हुने गरेको पीडा उनी सुनाउँछिन् ।

पानी निकासको लागि नालाको समेत उचित व्यवस्था नभएको उनले बताइन् । महानगरले यस क्षेत्रमा डुबान रोकथामका लागि अहिलेसम्म कुनै काम नगरेको उनी बताउँछिन् । महानगरले धुदुवा नहर समयमै सफा गरिदिए डुबानको समस्याबाट धेरै हदसम्म राहत मिल्ने उनको भनाइ छ ।

हरेक वर्ष डुबानको समस्या भोग्नुपर्दा समेत महानगरले रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको विराटनगर–१२ कामत चोकका गोबिन्द पौडेल बताउँछन् । नालाको उचित व्यवस्था नहुँदा कामत चोक डुबानको चपेटामा पर्ने गरेको पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘गत साल खसी समेत बग्यो । अहिले पनि बर्षाको समय आउनै लाग्यो । तर महानगरले डुबान रोकथामका लागि कुनै काम गरेको छैन । यस विषयमा महानगरले समयमै ध्यान दिन आवश्यक छ ।’

सोही स्थानका शंकर साहको पीडा पनि समान छ । बर्षाको समय आउनै लाग्दा गत वर्षको अवस्था सम्झेर भक्कानिन्छन् । विराटनगर–१६ मिल्स एरियाकी ऋचा लामा वर्षातको समय सधैँ दुःख भोग्न बाध्य हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘निन्द्रा लाग्न पनि छाडिसक्यो । नाला बनेपनि पानी निकासको बाटो छैन । डुबानका कारण बच्चाहरूलाई विद्यालय पुर्याउन पनि मुस्किल हुन्छ ।’

विराटनगर–८ बालगोपाल टोलकी सरु राई खोलामा तटबन्ध बन्छ भन्ने प्रतीक्षामा बसेको लामो समय भयो । तर आश्वासन बाहेक अहिलेसम्म केही नपाएको सुनाउँछिन् । महानगरले बाढी तथा डुबान नियन्त्रणका लागि पूर्वतयारी गरिरहेको बताए पनि उनले त्यसको अनुभव गर्न सकेकी छैनन् ।

चुनावताका तटबन्धको नारा बोकेर चुनाव जित्नेले पनि कुनै काम गर्न नसकेको उनको भनाइ छ । उनी यस विषयमा सम्बन्धित पक्षले समयमा ध्यान दिन नसकेको बताउँछिन् ।

सोही स्थानकी तिलमाया भण्डारीलाई वर्षातको समय आउनै लाग्दा निन्द्रा लाग्न छाडिसकेको छ । विगतका वर्षमा बाढीले घर कटान गरेर समस्यामा पर्दै आएकी भण्डारी महानगरसँग सन्तुष्ट छैनन् ।

महानगरले अहिलेसम्म कुनै पनि पूर्वतयारी नगरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘महानगरले बोलीमा जे पनि गर्छ । तर व्यवहारमा लागू गर्दैन ।’

प्रत्येक वर्ष बाढीको समयमा मेयर, उप–मेयर आएर आश्वासन मात्रै दिने गरेको विराटनगर–१५ का रञ्चनकुमार शाही बताउँछन् । भन्छन्, ‘महानगरले अहिलेदेखि नै उचित कदम चालेको खण्डमा केही हदसम्म भएपनि डुबानको समस्याबाट छुटकारा मिल्ने थियो ।’ महानगरले बाढी र डुबान रोकथामका लागि प्रभावकारी कार्य गर्न नसकेको उनले बताए ।

विराटनगरका प्रायः सबै स्थानका नागरिकसँग यस विषयमा कुरा गर्दा महानगर पूर्वतयारी गर्न चुकेको प्रतिक्रिया आउँछ । महानगरले प्रभावकारी काम नगर्दा बर्षेनी महानगरबासीले डुबानको समस्या झेल्दै आएको प्रष्ट हुन्छ ।

महानगरको सरसफाइ महाशाखामा कार्यरत कर्मचारी नाला सफाइले मात्र डुबान नियन्त्रण नहुने बताउँछन् । नालामा विभिन्न किसिमका अबरोध भएका कारण सफा भएपनि पानी निकासमा समस्या हुने महाशाखा प्रमुख पुनम दाहालको भनाइ छ ।

कतिपय स्थानमा नाला सफाइका लागि समस्या पनि हुने गरेको उनले बताए । संरचना अलपत्र भएका कारण पानी निकासमा समस्या हुने उनले बताए । उनले भने, ‘नाला हामीले सफा गरिरहेका छौँ । यो क्रम जारी छ । तर विभिन्न कारणले पानी निकासमा समस्या हुन्छ । संरचना निर्माणमा भएका कमजोरीलाई सुधार्न जरुरी छ ।’

महानगरका मेयर नागेश कोइराला भने डुबान रोकथामका लागि पूर्वतयारीका काम भइरहेको बताउँछन् । कोइरालाले संगालोखबरसँग भने, ‘हामीले सबै स्थानका नाला सफा गरेका छौँ । केही ठाउँमा बाँकी होलान् । तर वर्षायाम भन्दा अगाडि नै सफा गरिसक्छौँ ।’

विगतका वर्षहरूमा जस्तो यसपटक महानगरबासीले डुबानको समस्या खेप्न नपर्ने मेयर कोइरालाको भनाइ छ । विगत वर्षहरूमा हप्ता दिनसम्म पानी जम्ने गरेको थियो’, उनले भने, ‘नाला सफा भएपछि गत वर्षदेखि छोटो समयमा नै पानी बगेर जाने वातावरण तयार भएको छ । यसपटक पनि त्यति धेरै समस्या हुँदैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!