सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्बिनी क्लबका जर्सी नम्बर २ का विवेक गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

Advertisement

निर्धारित समय बराबरीमा टुंगिएको खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । आजको खेलमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ लगाएका खेलाडी उमेश राई उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि भएका खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ विजयी हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । हिजो भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै, उद्घाटन खेलमा फोरस्टार युवा क्लब मोरङलाई १-० गोलले हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो । प्रतियोगितअन्तर्गत भोलि बुधबार आयोजक टिम र सल्हेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी रहेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!