रबिन कटेल/संगालोखबर

धनकुटा । विद्युत प्राधिकरणले धनकुटाको सिधुवास्थित निगाले सिमेन्ट उद्योगको लाइन काटेको छ । १५ करोड भन्दा बढी विद्युत महसुल नबुझाएपछि प्राधिकरणले शुक्रबार उद्योगको विद्युत लाइन काटेको हो ।

Advertisement

निगाले सिमेन्टले विद्युत प्राधिकरणलाई १५ करोड ८० लाख २८ हजार २ सय ५७ रुपैयाँ विद्युत महसुल भुक्तानी गर्न बाँकी छ । विद्युत प्रयोग गरेबापत प्राधिकरणलाई बुझाउँनु पर्ने ठूलो रकम भुक्तानी नगरेकाले प्राधिकरण केन्द्रको नीति अनुसार विद्युत लाइन काटिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख रोशन सिंहले बताए । ‘निगाले सिमेन्टले विद्युत प्राधिकरणलाई १५ करोड ८० लाख रकम बुझाउँन बाँकी छ । प्राधिकरण केन्द्रको नीति अनुसार हामीले उद्योगको लाइन काटेका छौं,’ सिंहले संगालोखबरसँग भने, ‘यसरी ठूलो रकम नबुझाउने सबैको लाइन काटिँदै छ ।’

प्राधिकरणले अन्य उपभोक्ताको भन्दा बढी क्षमताको विशेष लाइन उद्योगलाई उपलब्ध गराएको थियो । २०७२ साउनदेखि २०७५ जेठ महिनासम्म प्रयोग गरिएको डेडिकेटेड एवम् ट्रंक लाइनको १४ करोड २१ लाख महसुल निगाले सिमेन्टले भुक्तानी गरेको छैन । समयमै महसुल भुक्तानी नभएपछि त्यसमा ‘फाइन’ जोडिएर भुक्तानी बाँकी रकम १५ करोड नाघेको हो ।

डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरी विद्युत महसुल नबुझाउने उद्योगहरूको लाइन प्राधिकरणले धमाधम काटिरहेको छ । प्राधिकरणले शुक्रबार मात्रै निगाले सिमेन्टसहित १४ वटा उद्योगको लाइन काटेको हो । गत पुस ६ गतेबाट विद्युत लाइन काट्ने अभियान थालेको प्राधिकरणले हालसम्म २३ वटा उद्योगको लाइन काटिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!