संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई भेटेका छन् । मोरङको लेटाङ नगरपालिका–३ कीर्तिमान पुगेर मन्त्री उप्रेतीले हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका कमल माझीको परिवारलाई भेटेका हुन् ।

Advertisement

सोमबार बिहान हात्तीको आक्रमणमा परी स्थानीय ५३ वर्षीय माझीको मृत्यु भएको थियो । लेटाङबाट साइकल चढेर बेलबारीको लक्ष्मीमार्गतर्फ आउँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा हात्तीले आक्रमण गरेको थियो । माझीको शव बिहान करिब साढे १० बजे सिर्जना सामुदायिक वन क्षेत्रमा फेला परेको थियो । माझीले आफ्नो साथमा बोकेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चाप्रति आक्रामक भएर हात्तीले उनीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

हात्तीको आक्रमणमा परी ज्यान गुमाएका माझीको परिवारमा उनकी श्रीमतीसहित २ छोरा, बुहारी र २ जना नातिनी छन् । घरका ठुला छोरा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । अढाई महिनाअघि बुबाको पनि मृत्यु भएको थियो । हात्तीको आक्रमणमा परी घरको अर्को अभिभावक पनि गुमाउनु परेपछि अहिले परिवारमात्र हैन कीर्तिमान गाउँ नै स्तब्ध छ ।

‘कानूनमा ३० दिनभित्र भनिएपनि मुचुल्का उठाउने काम २ दिनको हो । बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ । ३० दिन कुर्नैपर्ने आवश्यकता छैन,’ मन्त्री उप्रेतीले भने, ‘जनतालाई सरकारको अनुभूति दिलाउने दायित्व हाम्रै हो । त्यसैले ढिलासुस्ती नगरौँ । हामीले के गर्नुपर्छ, गर्छौ ।’

प्रदेशसभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा सांसदहरुले हात्ती आक्रमणको विषयमा सरकारको जवाफदेहिता माग गरेपछि मन्त्री उप्रेती बुधबार बिहानै मृतक परिवारको घर पुगेका हुन् । उनी सो क्षेत्रका प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत र घटना भएका क्षेत्रका प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीका साथमा कीर्तिमान पुगेका थिए ।

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरूलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकमसमेत उपलब्ध गराए । उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । हात्ती तथा अन्य जीवजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका निम्ति प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वन्यजन्तुमैत्री जङ्गल बनाउने कार्यक्रमलाई समेटेको उनले जानकारी दिए ।

हात्तीको आक्रमणमा परी यसअघि पनि सुनसरीको इटहरी, झापाको हल्दीबारी र बेलडाँगीमा १/१ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा पछिल्लो २ सातायता हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भइसकेको छ । आहारको खोजीमा हात्ती गाउँ पस्दा आक्रमणको घटनाहरू हुने गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार यसको रोकथाम तथा नियन्त्रणका सामुदायिक तथा साझेदारी वन समुहसँगको सहकार्यमा जनचेतना फैलाउने काम भइरहेको छ ।

यसका अतिरिक्त आहारको खोजीमा हात्तीलाई गाउँ पस्न नदिन वनक्षेत्रमै जङ्गली फलफूलको बोटविरुवा लगाउने कार्यलाई पनि कार्यालयले अभियानकै रुपमा अघि बढाएको छ । ‘वृक्षरोपणको क्रममा न्यूनतम २० प्रतिशत बिरुवा जङ्गली फलफूलको लगाउने कार्यलाई अघि बढाईएको छ । यसले हात्ती जङ्गलमै सीमित हुने र गाउँ पस्ने क्रम घट्दै जाने अनुमान हामीले गरेका छौं,’ कार्यालय प्रमुख बिष्णुलाल घिमिरेले भने, ‘वनक्षेत्र अतिक्रमणका कारण पनि जङ्गली हात्ती गाउँघर पस्ने गरेका छन् ।’

डिभिजन वन कार्यालयका अनुसार हाल ३७ वटा हात्तीहरू झापाको बाहुनडाँगीबाट मोरङ हुँदै सुनसरीसम्म पुगेका छन् । हात्ती देख्दा जिस्क्याउने, ढुङ्गा हान्ने र फोटो तथा सेल्फी खिच्ने लगायतका कारणले पनि आक्रमण हुने गरेको छ ।

चालू आर्थिक वर्षमा हात्ती आक्रमणका ४२ घटना, ४ जनाको मृत्यु

चालू आर्थिक वर्षमा ४२ वटा हात्ती आक्रमणको घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार यी घटनामा चार जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट अहिलेसम्म २७ लाख ९० हजार मुल्य बराबरको घर/टहरा लगायतमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र उदयपुरमा बिभिन्न समयमा हात्तीले आतङ्क मच्चाउने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!