संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गाउँ-गाउँमा एकीकृत घुम्ती शिविर आयोजना गरेको छ । सर्वसाधारण नागरिकलाई गाउँमै पुगेर सेवा प्रदान गर्न गाउँपालिकाले वडा नं.-१ स्थित धापबाट घुम्ती शिविर अभियान सुरु गरेको हो ।

Advertisement

अब, पालिकाका सबै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बालबालिका, वृद्धवृद्धा र अपांगता भएका अशक्त नागरिकलाई लक्षित गरेर पालिकाका सात वटै वडामा घुम्ती शिविर मार्फत सेवा प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । ‘हामीले वडा नं.-१ को धापबाट घुम्ती शिविर सुरु गरेका छौं, अब सबै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गर्छौ,’ अध्यक्ष राईले भने, ‘विशेषगरी बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई लक्षित गरेका छौं, तरपनि शिविरबाट सबै नागरिकले सेवा पाउनुहुन्छ ।’

घुम्ती शिविरमा स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य सामग्री वितरण र परिवार नियोजन सेवा प्रदान गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले जानकारी दिए । शिविरमा ज्येष्ठ नागरिकलाई ब्लाङकेट पनि वितरण गर्ने गरिएको छ ।

शिविरमा जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुरसहित स्वास्थ्यकर्मीहरूको टोली स्वास्थ्य उपचारमा खटिएको छ । डाक्टरहरूको टोलीले महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या लगायतको परिक्षण गर्ने गरेको छ । त्यस्तै, अन्य बिरामीहरूको पनि परीक्षण गर्ने गरिएको छ । अपाङ्गता भएका व्यक्तिको पनि परीक्षण गरी शिविरमै अपाङ्गता परिचय पत्र वितरण भइरहेको छ ।

पहिलो दिन धापमा आयोजित घुम्ती शिविरमा २५० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र २० जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । ३२ जना ज्येष्ठ नागरिकलाई ब्लाङकेट प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार यस पटक ८० देखि ८४ वर्ष उमेरका २१४ जना ज्येष्ठ नागरिकलाई ब्लाङकेट प्रदान गरिनेछ । अघिल्ला आर्थिक वर्षमा पालिकाले ८४ वर्षभन्दा माथिका करिब ४ सय ज्येष्ठ नागरिकलाई ब्लाङकेट बाढेको थियो ।

यसपटक वडा वडामा हुने घुम्ती शिविरमै ब्लाङकेट वितरण गरिनेछ । माघ १५ गते छिन्ताङ साम्बुगाउँ स्वास्थ्य चौकी, १६ गते खोकु स्वास्थ्य चौकी, १७ गते ६ नं. वडा कार्यालय र १८ गते चाम्चा सामुदायिक स्वास्थ्य इकाइमा घुम्ती शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!