संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले सरकारी स्वास्थ्य सामाग्रीमा पार्टीको चुनाव चिन्ह टाँसेर वितरण गर्ने तयारी गरेको भन्दै विरोधमा उत्रिएको एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर सरकारलाई प्रश्न सोधेको छ । एमाले जिल्ला कमिटि धनकुटाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर सरकार र प्रशासनलाई तीन वटा प्रश्न सोधेको हो ।

Advertisement

राजनीतिक दलको लेटरप्याडमा लेखेर माग गर्दा सरकारी निकायले कुनै अनाधिकृत व्यक्तिलाई स्वास्थ्य सामाग्री जस्तो संवेदनशील सामाग्री दिन मिल्छ भनेर एमालेले सरकारलाई प्रश्न गरेको छ । ‘जनताले तिरेको करबाट संकलित सरकारी ढुकुटीबाट खरिद गरिएको स्वास्थ्य सामाग्री राजनीतिक दलका कुनै व्यक्तिमार्फत उपलब्ध गराएर सत्ताको दुरुपयोग गर्न पाइन्छ ?’ भन्दै सरकारलाई प्रश्न गरेको हो ।

त्यस्तै ‘के अहिले यस्ता स्वास्थ्य सामाग्रीहरु मागेर सरकारी संयन्त्रमार्फत जिल्ला र गाउँ–गाउँमा पुर्याउनु पर्ने होइन र ?’ भन्दै एमालेले प्रश्न सोधेको छ । पत्रकार सम्मेलनमा एमाले धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले यो विषयमा सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए ।

धनकुटा नगरपालिका–६ भीमनारायण चौकस्थित होटल प्यासिफिक–३ मा अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, साबुन लगायत स्वास्थ्य सामाग्री भण्डारण गरेर राखिएको छ । कांग्रेस सह–महामन्त्री थापा अध्यक्ष रहेको सूर्यबहादुर थापा प्रतिष्ठानले भण्डारण गरेर राखेका ती सामाग्री स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त भएको एमालेले दाबी गर्दै आएको छ । ती सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह र झण्डा राखेर वितरण गर्ने तयारी गरिएको भन्दै एमाले नेता, कार्यकर्ताले गत मंगलबार सोही होटल परिषरमा विरोध प्रदर्शन पनि गरेका थिए ।

यता कांग्रेस सह–महामन्त्री थापाले भने ती स्वास्थ्य सामाग्री सरकारी निकायबाट प्राप्त भएको नभई सूर्यबहादुर थापा प्रतिष्ठानको सामाग्री भएको दाबी गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!