संगालोखबर सम्वाददाता
दुर्घटनामा मृत्यु भएका धनकुटा कांग्रेसका सचिव थापा ।

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौक नजिक आइतवार साँझ सवारी दुर्घटना हुँदा नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरित दिसावाट आउँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । सोही क्रममा पूर्वतर्फ जाँदै गरेको सचिव थापा सवार को २९ प ९५५० नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

Advertisement

दुर्घटनामा परी पाख्रीवास नगरपालिका–७ मुगा घर भएका ५० बर्षीय सचिव थापासहित तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । उपचारकै क्रममा राती करिब ९ः३० बजे सचिव थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका अर्को मोटरसाइकलमा सवार इटहरी–४ का ३५ बर्षीय दिपु साहको पनि मृत्यु भएको हो ।

सचिव थापासँगै मोटरसाइकलमा सवार पाख्रीवास नगरपालिका–७ मुगाका २७ बर्षीय भीमबहादुर थापा पनि गम्भीर घाइते छन् । प्रतिष्ठानमा उपचार हुँन नसकेपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ्ग होम लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने पिटरको नम्बर खुलेको छैन । घटनापछि टिपर भागेकाले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाग्रस्त दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा छन् ।

धनकुटाबाट झापा जाँने क्रममा सचिव थापा दुर्घटनामा परेका हुन् । राप्रपामा लामो समय राजनीति गरेका थापा गत बर्ष सुनिलबहादुर थापा नेतृत्वको टिमसँगै राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए । जिल्लामा पार्टी समायोजन भएपछि कांग्रेसले तीन जनालाई सचिव बनाएको थियो । सोही क्रममा थापाले जिल्ला सचिवकोे जिम्मेवारी पाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!