संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा स्थानीय जीवन सुधालय माध्यमिक विद्यालयकी छात्रा शिक्षा राई प्रथम भएकी छन् ।

Advertisement

सहिदभूमि–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयले आयोजना गरेको ‘मधुमेह र यसको रोकथाममा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ३५.३३ अङ्क प्राप्त गर्दै राई प्रथम बनेकी हुन् ।

प्रतियोगितामा सिद्धदेवी माविकी छात्रा प्रतिक्षा प्रधान ३४.३३ अङ्क ल्याउँदै द्वितीय बनिन् । ३३.८३ अङ्क प्राप्त गर्दै ठाकुरदेवी माविकी छात्रा मुना खड्का तृतीय बनिन् भने अनिवार्य माविकी छात्रा रिनेशा राईले ३२.५ अङ्क ल्याएर सान्त्वना स्थान हासिल गरिन् ।

उनीहरूलाई सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, शिक्षा शाखा प्रमुख मनोज पौडेल लगायतले पुरस्कार प्रदान गरेका छन् । प्रतियोगितामा सहिदभूमि क्षेत्रका आठ वटा माध्यमिक विद्यालयका एक/एक जना विद्यार्थी सहभागि थिए ।

वक्तृत्वकलाले सचेतना फैलाउन पनि सहयोग: अध्यक्ष राई

कार्यक्रममा बोल्दै सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले स्वास्थ्यको विषयमा वक्तृत्वकला प्रतियोगिता गर्दा यसले विद्यार्थीहरूको क्षमता विकास मात्र नभएर स्वास्थ्य सचेतना फैलाउँने काम पनि गरेको बताए ।

मधुमेह रोगको रोकथामको विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएकाले यसले स्वास्थ्य सचेतना फैलाउन पनि भूमिका निर्वाह गरेको अध्यक्ष राईको बुझाई छ । रोगका बारेमा राम्रो जानकारी नहुँदा धेरै मानिस समस्यामा पर्ने गरेको भन्दै उनले यसरी नै स्वास्थ्य सचेतना फैलाउन सबैले भूमिका खेल्नुपर्ने आवश्यकता पनि औँल्याए ।

ज्ञान भएर पनि स्टेजमा बोल्ने बानी नहुँदा जानेको कुरा व्यक्त गर्न धेरैले नसक्ने गरेको उदाहरण दिँदै उनले विद्यार्थीहरूको वक्तृत्वकला विकास गर्न यस्ता प्रतियोगिता सञ्चालनलाई निरन्तरता दिइनुपर्ने धारणा पनि राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!