संगालोखबर सम्बाददाता

मोरङ । वनको कर्मचारी र पत्रकारको नाममा रकम असुली गर्ने दुई जनालाई प्रहरीले मोरङको रतुवामाईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देल छन् ।

Advertisement

रतुवामाई–१० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलमा रकम उठाउन आएका बेला विशेष सूचनाका आधारमा शुक्रवार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड १ थान, उठाएको रकम अभिलेख भएको डायरी १ थान, कान्तिपुर पोष्टको बजार व्यवस्थापक परिचय पत्र १ थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान पनि फेला परेको छ । तर, उनीहरु पत्रकार नभएको पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खनालले बताए । ‘पक्राउ परेकाहरु पत्रकार हैनन, उनीहरु पत्रकार महासंघको सदस्य पनि छैनन्,’ खनालले भने ।

पक्राउ परेकाहरुको रकम अभिलेख डायरीमा मोरङका बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजारदेखि ११ हजार ५ सय रुपैयाँसम्म उठाएको उल्लेख छ । हामी वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ, सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुन्छ भन्दै डर देखाएर विभिन्न काठ मिलहरूबाट उनीहरुले रकम उठाएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले ठगी कसूर मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!