संगालोखबर सम्बाददाता

भोजपुर । आठ वर्षीया बालिकालाई बलात्कार गरेर भागेका भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बैकुण्ठेका सुन्दर राई ७ वर्षपछि बुधबार पक्राउ परे । लामो समयदेखि लुकिछिपी बस्दै आएका २६ वर्षीय राईलाई समात्न अन्ततः प्रहरी सफल भयो ।

Advertisement

जबरजस्ती करणी मुद्दामा भोजपुर अदालतले ०७९ माघ १८ गते दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएका राई रामप्रसाद राई गाउँपालिका–१ ओख्रेबाट समातिए । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका साल्पासिलिछो गाउँपालिका–५ दोभानेका ६५ वर्षीय चक्रबहादुर राई पनि तीन दशक अघिदेखि फरार थिए । ०४६ कात्तिक १७ गते दोभानेका २६ वर्षीय बद्रीकुमार राईको हत्या गरेर फरार रहेका चक्रबहादुर ३४ वर्षपछि गत असोज ५ गते सुनसरीको तरहराबाट पक्राउ परे । सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका उनलाई अहिले कारागार चलान गरिएको छ ।

भोजपुरमा प्रहरीले पुरानो मुद्दाका फाइल पल्टाएर फरार अपराधीहरूको खोजी तीब्र पारेपछि उनीहरु धमाधम पक्राउ पर्न थालेका छन् । अढाई महिना अघि भोजपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी सुदीपराज पाठकले अपराधीहरू पक्राउ गर्ने कामलाई तिव्रता दिएका हुन् । डीएसपी पाठकले भोजपुरमा ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ नै चलाएका छन् । डीएसपी पाठकको नेतृत्वमा विशेष अभियान चलेयता भोजपुरमा ४ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् ।

अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपनि प्रतिवादीहरू सजाय भुक्तान नगरी लामो समयदेखि भागिरहेका थिए । पुराना मुद्दा पल्टाएर फरार प्रतिवादी पक्राउ गर्ने कामलाई प्राथमिकता दिएर अघि बढेको डीएसपी पाठक बताउँछन् । ‘पीडितलाई न्याय दिन, सुरक्षित महसुस गराउन तथा कानुन कार्यान्वयन गर्न र अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रहरी सक्रिय छ,’ डीएसपी पाठक भन्छन्, ‘गाउँघरमा अपराध गरेर भागेकाहरुका बारेमा जानकारी भए प्रहरीलाई सूचना दिएर सहयोग गर्न सबैमा आग्रह गर्छु ।’

अपराधीका बारेमा सूचना दिनेको विवरण गोप्य राखिने उनको भनाइ छ । ‘कहीँकतैबाट जानकारी आउनसाथ पक्राउ गरेर प्रहरीले अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउँछ,’ उनले भने, ‘तर, सूचना दिनेको विवरण अति नै गोप्य हुन्छ ।’ अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउँदा समाजमा शान्ति सुरक्षाको अवस्था मजबुत भएर प्रहरीप्रति जनविश्वाससमेत बढ्ने भएकाले यसलाई प्राथमिकता दिएको डीएसपी पाठकको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!