रबिन कटेल/संगालोखबर

धनकुटा । तेल बोक्ने ट्याङ्करमा राखेर लैजाँदै गरेको ठूलो परिमाणको गाँजासहित चार जनालाई गएराती धनकुटाको भेडेटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङ्करमा ६ सय किलो गाँजा फेला परेको हो ।

Advertisement

राती करिब २ बजे ट्याङ्कर रोकेर चेकजाँच गर्दा गाँजा भेटिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । भेडेटार प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन कार्की नेतृत्वको टोलीले गाँजा नियन्त्रणमा लिएको हो । शंका लागेर चेकजाँच गर्दा ट्याङ्करको तेल हाल्ने ठाउँको डिब्बामा गाँजा फेला परेको प्रहरी नायब निरीक्षक कार्कीले बताए । ‘लोड गाडी र खाली गाडी गुड्दाको आवाज फरक सुनिन्छ । तेल पुर्याएर फर्किएको गाडीको आवाज खाली गाडीको जस्तो लागेन, शंका लागेर चेक गर्दा गाडीको तेल हालेर बिर्को लगाउँने ठाउँको डिब्बामा लुकाएर राखिएको अवस्थामा गाँजा भेटियो,’ कार्कीले संगालोखबरसँग भने, ‘गाँजा टन्नै रहेछ, निकालेर तौल गर्दा ६ सय किलो भयो ।’

प्लाष्टिकले प्याक गरेर तीन सय वटा सानो-सानो पोका बनाएर राखिएको अवस्थामा गाँजा भेटिएको छ । गाडीमा गाँजा भेटिएपछि चालकसहित त्यहाँ सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको आधिकारिक परिचयपत्र फेला परेको छैन । उनीहरु मध्ये तीन जनाले भारतीय र एक जनाले नेपाली भएको बताएका छन् । पक्राउ परेका व्यक्तिहरूले आफ्नो परिचय ढाँट्न सक्ने भएकाले आधिकारिक परिचयपत्र फेला परेपछि मात्र उनीहरूको परिचय खुलाइने प्रहरीले जनाएको छ ।

करिब दुई साता अघि पनि टेम्पुमा राखेर लैजाँदै गरेको अवस्थामा भेडेटारबाट ५० किलो गाँजा बरामद भएको थियो । यसअघि जिप, मोटरसाइकल, बस र एम्बुलेन्समा गाँजा भेटिने गरेको भएपनि सम्भवत धनकुटामा पहिलो पटक तेलको ट्याङ्करमा गाँजा ओसारपसार गरेको भेटिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!