संगालोखबर सम्वाददाता


विराटनगर । कानून बमोजिम तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वबजेट छलफलको समय घटाउने अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ ।

Advertisement

तर, कोरोना महामारीको बहानामा समयमै अधिवेशन आह्वान नगरेको प्रदेश सरकारले बजेट आउनुभन्दा ५ दिन अगावै प्रि–बजेट छलफल गर्नेगरि अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए ।

बजेट अधिवेशन बोलाउन आनाकानी गरेर अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गरेको भन्दै विपक्षीहरुले प्रदेश सरकारको आलोचना गर्दै आएका थिए । उनीहरुले प्रदेश प्रमुखलाई समेत भेटेर बजेट अधिवेशन नबोलाई अध्यादेशबाट बजेट ल्याउने प्रयास भए विशेष अधिवेशन बोलाउने बताएपछि सरकारले अधिवेशन आह्वान गर्ने तयारी गरेको हो । मन्त्री कार्कीले केही दिनमै बजेट अधिवेशन आह्वान हुने जानकारी दिएका छन् ।

यस्तै बैठकले प्रदेश सरकारको कोषबाट कोरोना रोकथाम तथा प्रतिकार्यका निम्ति स्थापित कोरोना जनसुरक्षा कोषमा १० करोड रकम थप गर्ने निर्णयसमेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!