गोमा ढुंगाना/संगालोखबर

धनकुटा । काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने संस्कारलाई चुनौति दिदैं धनकुटाकी एक वालिकाले मृत्यु भएकी आफ्नी आमाको काजकिरिया गरेकी छन् । धनकुटा–७ जिरोपइन्टकी १५ बर्षीया नुप्पु श्रेष्ठले आमाको काजकिरिया गरेकी हुन् ।

Advertisement

पिसावको समस्याका कारण उनकी आमा शान्ताको ४२ बर्षको उमेरमा जेठ २८ गते मृत्यु भएको थियो । धनकुटा जिल्ला अस्पतालमा उपचार हुँन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएकी शान्ताको उपचारकै क्रममा मृत्यु भएको हो । उनी धनकुटाको हुलाकटोलमा टेलर्स सञ्चालन गर्दै आएकी थिइन् । नुप्पु शान्ताकी एकमात्र सन्तान हुन् ।

छोरा नभएकाले नुप्पुले नै आमाको काजकिरिया गरेको उनका वुवा पूर्णले बताए । ‘छोरा नभएकाले मैले नत्र उसको देवरले गर्दा पनि हुन्थ्यो, तर छोरीले मेरो आमाको काजकिरिया म आफै गर्छु भनेर गरेकी हुन्,’ उनले संगालोखबरसँग भने, ‘छर छिमेकी र समाजले पनि छोरीले राम्रो गरिन् भनेका छन् ।’

केही महिना अघि धनकुटाको कागतेमा पनि छोरीले आमाको काजकिरिया गरेकी थिइन् । पहिले काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने संस्कार भएपनि अहिले समाज रुपान्तरण भएर छोरीले पनि काजकिरिया गर्ने क्रम बढ्नु सकारात्मक भएको प्रदेश सांसद् कुसुम कुमारी श्रेष्ठ बताउँछिन् । संसाद् श्रेष्ठ भन्छिन्, ‘पहिले काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने चलन थियो, छोरा नभए भाई भतिजा खोज्थे तर अहिले छोरीले पनि काजकिरिया गर्ने क्रम बढ्दै गएको छ, यो समाज रुपान्तरणको एउटा उदाहरणीय पक्ष पनि हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!