संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाइँको घरमा गएराती आगो लगाइएको हो ।

Advertisement

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाँईले संगालोखबरसँग भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चाबी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’

नेपाली कांग्रेसको तर्फबाट गुरागाँई वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाँईका श्रीमान-श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एकैठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाँईले बताए । उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांश सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरूले आगो निभाएका हुन् ।

आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाँई बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।’

आगो निभाउन केही ढिलो भएको भए ग्यास सिलिन्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

सो विषयमा शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनका अनुसार मानसिक सन्तुलनमा समस्या भएको र चोरी गर्ने काममा संलग्नले घटना गराएको हुन सक्ने प्रारम्भिक निष्कर्षसहित अनुसन्धान अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!