संगालोखबर सम्बाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा कोरोना परीक्षण र संक्रमितको उपचारका लागि स्वतस्फूर्त रुपमा रकम जुट्न थालेको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको आव्हानमा स्वतस्फूर्त रुपमा रकम जम्मा गर्न थालिएको हो ।

धनकुटामा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला गत शनिवार प्रमुख जिल्ला अधिकारी दाहालले कोरोना नियन्त्रणका लागि राष्ट्रसेवक कर्मचारीहरुलाई एक/एक दिनको तलब योगदान गर्न प्रस्ताव गरेका थिए । प्रजिअ दाहालको प्रस्तावलाई धेरैले सकारात्मक प्रतिक्रिया जनाएपछि रकम जम्मा गर्न अपिल गरिएको हो । कर्मचारी मिलन केन्द्रको खातामा मंगलबारदेखि रकम जम्मा गर्न थालिएको छ । पहिलो दिननै ५० हजार भन्दा बढी रकम जम्मा भएको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष दिनेश ढुंगानाले जानकारी दिए । ‘साँझ ५ बजेसम्मको रेकर्ड अनुसार ५० हजार ५ सय ११ रुपैयाँ रकम जम्मा भएको छ । त्यो भन्दा पछि पनि रकम आएको छ ।’ घरेलु कार्यालयका प्रमुखसमेत रहेका कोषाध्यक्ष ढुंगानाले भने, ‘हामीले हरेक दिन जम्मा भएको रकम सार्वजनिक गछौं । १० लाख भन्दा बढी रकम जम्मा होला भन्ने अनुमान गरेका छौं ।’

Advertisement

धनकुटामा करिब ७० वटा सरकारी कार्यालय छन् । जिल्लाका सरकारी कार्यालय र पालिकासहित गर्दा एक हजार भन्दा धेरै कर्मचारी छन् । सबै कार्यालयका कर्मचारीबाट रकम संकलनका लागि कार्यालय प्रमुखलाई समन्वयको व्यवस्था मिलाउँन लगाइएको ढुंगानाले बताए । यता, सरकारी कर्मचारीमात्र नभएर अन्य व्यक्तिले पनि स्वतस्फूर्त रुपमा रकम जम्मा गर्न थालेका छन् । पहिलो दिन सरकारी कर्मचारी, सर्वसाधरण र जिल्ला बाहिरका व्यक्तिले पनि रकम जम्मा गरेका छन् ।

संकलित रकमलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनरुप आवश्यकता अनरुप कोरोना नियन्त्रणमा खर्च गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!