संगालोखबर सम्वाददाता
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्मा । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले धनकुटाका विपन्न बिरामीलाई उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका पूर्वअध्यक्षसमेत रहेका सांसद शर्माले धनकुटाका विपन्न बिरामीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशत छुटको व्यवस्था मिलाउँने घोषणा गरेका हुन् ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्मालाई धनकुटामा भव्य स्वागत गर्दै कांग्रेस धनकुटाले आज उनीसँग जिल्ला पार्टी कार्यालयमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले उपचारमा सहुलियत दिने घोषणा गरेका हुन् ।

Advertisement

उनले पैसाको अभावमा उपचार गर्न नसकेर थलिएका धनकुटाका बिरामीलाई निःशुल्क उपचार गर्ने घोषणा पनि गरेका छन् ।

‘म तराइमा जन्मिएपनि मेरो पुर्खा धनकुटामै हुर्किएका हुन्, धनकुटासँग मेरो पुर्खौली नाता पनि छ, धनकुटेलीलाई मेरो तर्फबाट सकेको सहयोग गर्छु,’ सांसद शर्माले भने, ‘यहाँका अति विपन्न, उपचार गर्ने पैसा नभएर थलिएर बसेका बिरामीले निःशुल्क उपचार पाउनुहुन्छ, कमजोर आर्थिक अवस्थाका विपन्न बिरामीलाई पनि ५० प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था मिलाइदिन्छु ।’

विपन्न बिरामीलाई उपचारका लागि सिफारिस गरेर पठाउँन कांग्रेस धनकुटालाई उनले आग्रह गरे । सांसद शर्माले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गर्दै धनकुटाका तीन ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गराइदिने भएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्माले नोबेलमा पनि सहुलियत प्रदान गर्ने बचन दिएका छन् । व्यवसाय र राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय डा.शर्माले यसअघि पनि हजारौं विपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!