संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजनका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आईतबार ९ औं गाउँसभाबाट ६३ वटा नीति तथा कार्यक्रम पारित गरेको हो ।

Advertisement

गाउँपालिकाको ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार छथर जोरपाटीको समृद्धि’ भन्ने नारामा आधारित रहेर नीति तथा कार्यक्रम तयार गरेको छ । गाउँपालिकाले ‘आर्थिक बिकासका लागि छथर जोरपाटीको जन र मन गाउँपालिकाको समृद्धिका लागि धन’, ‘उद्यमशीलताबाट रोजगारी उत्पादनमा बृद्धि–यस पालिकाको हुन्छ समृद्धि’, ‘हाम्रो वन छथर जोरपाटीको धन’ जस्ता कार्यक्रमहरु ल्याएको छ ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि ‘छथर जोरपाटी शैक्षिक छात्रावृत्ति, बालबालिकाहरुलाई कक्षा कोठामा ल्याऔं, पढाईमा टिकाऔं र समाजमा विकाऔं’ कार्यक्रम र छथर जोरपाटी शैक्षिक छात्तवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यस्तै गाउँपालिकाले स्थायी रुपमा बसोबास गर्दै आएका दलित समुदायहरुका लागि ‘एक परिवार–एक उपहार’ कार्यक्रम लागू गर्ने भएको छ । बसाइसराइलाई न्यूनिकरण गर्न ‘बसाई सरी जान नाईनाई–सरी आउनेलाई उपहार दिउँ एक दुहुना गाई’ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

पालिकाले सामाजिक उत्तरदायित्वतर्फ एकल महिला बिउ पूँजी कोष, अति बिपन्न परिवार सामाजिक सुरक्षा कार्यविधि, छथर जोरपाटी अति बिपन्न परिवार सामाजिक सुरक्षा कार्यक्रम, छथर जोरपाटी लक्षित वर्ग तथा समुदाय क्षमता तथा सीप बिकास कार्यक्रम लागू गर्ने भएको छ । ‘हाम्रो गाउँ–घर–सर्वत्र उज्यालो ठाउँ’, ‘छथर जोरपाटी राष्ट्र सेवक पदक’, ‘प्रकोप व्यवस्थापन कोष’ जस्ता कार्यक्रमहरु पालिकाले समावेश गरेको छ ।

यता, कृषि क्षेत्रको व्यवसायीकरणका लागि भूमि बैंक स्थापना, सोध भर्ना सापटी कार्यक्रम, कोभिड–१९ रोकथाम कार्यक्रम, जेष्ठ नागरिकहरुलाई घर–घरमा उपचार कार्यक्रम पनि गाउँपालिकाको महत्वपूर्ण कार्यक्रममा परेका छन् । पर्यटन पूर्वाधार बिकास, फोहोरमैला व्यवस्थापन, सुरक्षित पिउने पानीको व्यवस्था तथा तमोर नदीबाट खानेपानी लिफ्टिङ्ग आयोजना, किशोर–किशोरी लक्षित कार्यक्रम, आगामी ३ बर्षभित्र पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने, यूवाहरुका लागि खेलकुद कार्यक्रम, महिला हिंसा न्यूनिकरण कार्यक्रम, महिला उद्यमशिलता आदि कार्यक्रम पनि समावेश गरिएको छ । पालिकाले आदिबासी जनजातिहरुका लागि संग्राहलय निमाण गर्ने, उनीहरुको कला संस्कृतिका संरक्षण गर्ने कार्यक्रम पनि ल्याएको छ ।

गाउँपालिकाले १ करोडसम्मको आयोजना सम्पन्न गर्दा प्राविधिकको सिफारिस बिना मेसिन गर्न नपाउने नीति ल्याउने भएको छ । खेतीयोग्य जमिनमा सिँचाईका लागि आवश्यक डीपीआर प्रतिवेदन तयार गर्ने, सुरक्षित वस्ती बिकास कार्यक्रम लागू गरिने, प्राबिधिक सल्लाह बिना निजी तथा सरकारी भवन निर्माणमा बन्देज लगाउने कार्यक्रमसमेत ल्याइएको छ ।

पालिकाले हालसम्म बिभिन्न भौतिक संरचना सडक सञ्जालहरुको निर्माण सम्बन्धि जानकारी दिंदै पालिका क्षेत्र र धनकुटा बजारको बिहिबारे हटियाबाट पालिकाको सिंभुवा जोड्ने सडक कालोपत्रे यसै आर्थिक बर्षमा थाल्ने जनाएको छ । कोरोना नियन्त्रणका लागि बिभिन्न कार्यक्रमहरु गरेको पालिकाले जीपीआरएस पद्दतीबाट सूचना प्रवाह गर्ने र संघ–संस्थाहरुसँग ‘संस्थागत सञ्जाल समन्वय संयन्त्र’ स्थापना गर्ने उल्लेख गरेको छ ।

पालिकाले कार्यक्रममा गत बैसाख २ गते असिनाबाट भएको क्षति प्रति गम्भीर ध्यानाकर्षण भएको र बालिहरुको क्षतिपूतिका लागि सम्बन्धित निकायमा पहल गरिएको कार्यपत्रमा उल्लेख गरेको छ । पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न नवौ गाउँ सभामा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिब आङ्ला(लिम्बू)ले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिए । सभाबाट पारित नीति तथा कार्यक्रमको आधारमा बिषयगत समितिहरुसँग छलफल गरी आगामी १० गते नयाँ बजेट ल्याईने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!