संगालोखबर सम्बाददाता
तस्बीर : प्रेम देवान

विराटनगर । स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरेपछि विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा बुधबार बिहान अस्पताल परिसरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

कोशी अस्पतालमा डिउटी सकेर घर फर्कदै गर्दा मंगलबार राती देवकोटा चौकमा अस्पतालका पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीमाथि प्रहरीले कुटपिट गरेको बताइएको छ । डिउटीमा गएर फर्किएका स्वास्थ्यकर्मी भनेर थाहा पाउँदा–पाउँदै प्रहरीले कुटपिट गरेको आरोप छ । प्रहरीको कुटाइबाट राजबंशीको घुँडा नजिक लौराको सुम्लो बसेको छ ।

Advertisement

उनीहरुले लाठी हान्ने प्रहरीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । प्रहरीको गैहजिम्मेवारीपन नरोकिए डिउटी गर्न नसकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुले अस्पताल–घर आउजाउ गर्ने सहज वातावरण बनाउँन माग गरेका छन् । कोरोनाको महामारीका बेला ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमाथि कुटपिट हुँनु गम्भीर विषय भएको उनीहरुको ठहर छ ।

यता, घटनाको जानकारी पाएपछि पीडित स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले भेटेका छन् । घटनाको विषयमा छानविन गरी दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!