संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको उर्लाबारीमा सवारी चालक अनुमति पत्र नभएका सहचालकले चलाएको ट्रकले आज दिउँसो ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

Advertisement

गिट्टी बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारीसाधनहरुलाई दिउँसो २ः२० बजे ठक्कर दिएको हो । ट्रकको ठक्करबाट ३ वटा अटो टेम्पो, ३ वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ ।

ट्रकको ठक्करबाट को २ ह ४७२२, प्रदेश १–०२–००३ ह ३४०६ र प्रदेश १–०२–००३ ह २९४० नम्बरको अटोमा क्षति पुगेको छ । प्रदेश १–०२–०५१ प ४४२२, मे ११ प १९९५ र प्रदेश १–०१–०१४ प ७४४३ नम्बरको मोटरसाइकल पनि क्षतिग्रस्त भएका छन् । प्रदेश १–०१–००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी तथा को २ च २३ नम्बरको पिकअपमा पनि ठक्करबाट क्षति पुगेको छ ।

ट्रकका सहचालक इलामको फाकफोकथम गाउँपालिका–४ का २२ वर्षीय योगेन्द्र थापामगरले ट्रक चलाएका बेला दुर्घटना भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । दुर्घटनामा २९४० नम्बरको अटोका चालक उर्लाबारी–१ का ४० वर्षीय दिलकुमार बोहोरा र ४७२२ नम्बरको अटोका चालक उर्लाबारी–६ का ४२ वर्षीय पदमप्रसाद भट्टराई घाइते भएका छन् । उर्लाबारीस्थित अरनिको अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

आफूलाई ट्रकको चालक बताउने सुनील शंकर दुर्घटनालगत्तै प्रहरीको सम्पर्कमा पुगेका छन् । उनी ट्रकका सक्कली चालक हुन् कि हैनन् भनेर प्रहरीले अनुसन्धान गर्दैछ । दुर्घटनापछि ट्रक धनीले चालक खडा गरेर उनलाई ल्याएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि, अनुसन्धानपछि मात्र यो विषय यकिन हुनेछ ।

सहचालकले आफूखुसी चाबी लगेर ट्रक चलाएको शंकरले आरोप लगाएका छन् । यता, सहचालक थापामगरले चालकसँग अनुमति लिएर नै ट्रक चलाएको प्रहरीसमक्ष बताएका छन् ।

अचानक सडक पार गरेको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको उनले भनाई छ । ट्रक र सहचालक थापामगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विषयमा थप अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!