संगालोखबर सम्वाददाता

विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित पार्टीका चार नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । कांग्रेस मोरङ क्षेत्र नं.३ का क्षेत्रिय प्रतिनिधिसमेत रहेका आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

Advertisement

उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गर्दै कानेपोखरी गाउँ कमिटीले जिल्ला कमिटीलाई पत्र पठाएको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदका लागि प्रदेश सदस्य सञ्जय भट्टराईलाई उम्मेदवार बनाएको थियो । तर, उनी एमाले उम्मेदवार राजमति इङ्गनामसँग ३ हजार १ सय २९ मतान्तरले पराजित भए । एमाले उम्मेदवार इङ्गनामले ८ हजार ९ सय ७५ मत पाउँदा कांग्रेस उम्मेदवार भट्टराईले ५ हजार ८ सय ४६ मत प्राप्त गरे । सात वडा रहेको कानेपोखरीमा अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा एमाले बिजयी बन्दा कांग्रेस दुई वडामा मात्र सीमित भयो ।

आफुसहित पार्टीका उम्मेदवारहरुलाई हराउँन आफ्नै पार्टीका नेताहरु निरौला, संयोग, सेडाई र फुयालले भूमिका खेलेको किटानीसहित अध्यक्षका उम्मेदवार भट्टराईले उनीहरुलाई कारबाहीको माग गर्दै कानेपोखरी गाउँ कमिटीमा गत मंगलबार उजुरी दिएका थिए । कांग्रेसका उम्मेदवारलाई मत नहाल्न भन्दै उनीहरु खुलेआम हिडेको उजुरीमा उल्लेख छ । उजुरी पश्चात उनीहरुले पार्टीभित्रै अन्तर्घात गरेको ठहर गर्दै कानेपोखरी गाउँ कमिटीले कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो । ‘चुनावमा पार्टीका उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ जिल्ला कमिटीलाई पठाइको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘निजहरुलाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’

अध्यक्षका उम्मेद्वार भट्टराई कोइराला पक्षका हुन् भने निरौला देउवा पक्षका हुन् । निरौला र भट्टराईबीच पहिलेदेखिनै सम्बन्ध खासै राम्रो नरहेको जानकारहरु बताउँछन् । चुनावमा भट्टराईले टिकट नपाएपछि उनी असहयोग गर्न खुलेरै लागेको आरोप छ । उनीहरुको अन्तर्घातका कारण कांग्रेसले ३५ सय भोट गुमाउँनु परेको कानेपोखरीका कांग्रेस सभापति योगेन्द्र दाहाल बताउँछन् । उनी भन्छन् ‘उहाँहरुले असहयोग गर्दा कांग्रेसले ठूलो नोक्सानी बेहोर्नु पर्यो, त्यसैले हामीले कारबाहीका लागि सिफारिस गरेका हौं ।’ कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले कारवाहीको सिफारिस प्राप्त भएकाले अब जिल्ला कमिटीले स्पष्टिकरण सोधेर कारबाहीको प्रकृया अघि बढाउँने जानकारी दिए ।

यता, आयोग अध्यक्षसमेत रहेका नेता निरौलाले आफुले अन्तर्घात नगरेको दावी गर्दै गल्ति गरेको प्रमाणित भएमा कारबाही स्वीकार गर्ने प्रतिक्रिया दिए । निरौलालाई देउवा नेतृत्वको वर्तमान सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । कारबाही सिफारिस गरिएका सेढाई पनि आयोगका कर्मचारी हुन् । कांग्रेसकै तर्फबाट सिफारिस भएर उनीहरुले नियुक्ती पाएका हुन् । कारबाही माग गरिए बमोजिम गल्ति प्रमाणित भएर साधारण सदस्यसमेत नरहने गरी पार्टीवाट निस्कासन भएमा उनीहरु आयोगको जिम्मेवारीबाट पनि बाहिरिनुपर्ने संभावना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!