- देबराज राई

उदयपुर । देशभर कोभिड–१९ को दोस्रो लहर तीब्र रुपमा बृद्धि भइरहेको छ । उदयपुर पनि संक्रमण र मृत्युको पीडाबाट अछुतो छैन । जिल्लामा दैनिकजसो दर्जनौँ नयाँ संक्रमित थपिनुका साथै मृतकको संख्या पनि बढ्दो छ ।

Advertisement

कोरोना संक्रमणबाट सर्वसाधरणलाई बचाउन उदयपुरका बिभिन्न स्थानीय तहले सक्रियता बढाएका छन् । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ सातधारेमा रहेको उदयपुर कोभिड अस्पताललाई बिस्तार गरी ६० बेडको बनाइने भएको छ । यसअघि सो अस्पताल ४० बेडमा सञ्चालत हुदै आएको थियो । प्रदेश सरकार र स्थानीय तहको आर्थिक सहयोगमा सो अस्पताल निर्माण गरिएको हो ।

जुनसुकै समय कोरोना संक्रमित आउन सक्ने भएकोले कोभिड अस्पताललाई २४ सैँ घण्टा तयारी अवस्थामा रहन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) का अध्यक्ष, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईसहितको अनुगमन टोलीले निर्देशन दिएको छ । सो कोभिड अस्पतालमा तत्कालका लागि ४ ठूला र २ साना अक्सिजन सिलिन्डर जुनसुकै अवस्थामा पनि उपलब्ध हुने गरी तयारी अवस्थामा राखिएको चौदण्डीगढी नगर स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्ति तेजबहादुर पोखरेलले बताए ।

त्यस्तै पालिकाभित्र बाहीरबाट आउने व्यक्तिहरुको निगरानी सम्बन्धी वडाध्यक्षको सक्रियतामा कडाई गर्ने गरिएको छ । यसरी संक्रमित भेटिएकाहरुलाई सहजता अनुसार होम आईसोलेशन वा उदयपुर कोभिड अस्पतालमै भर्ना गर्ने गरिएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कमलध्वज राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार संक्रमण बढ्न नदिन पालिकाभित्र देखिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङलाई विशेष ध्यानपूर्वक हेर्ने गरिएको छ ।

यसबाहेक चौदण्डीगढी नगरपालिकाले स्थानीय रामप्रसाद राई रंगशालामा स्थापना गरेको ८ बेड क्षमताको आइशोलेसनलाई पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए । कोरोना संक्रमणको सुरुवाती चरणमा जिल्लाबाट संक्रमितलाई बाहीर पठाउनुपर्ने बाध्यता टरेको नगरप्रमुख राईको बताउँछन् । ‘पहिला जिल्लाबाट बाहीर पठाउदा साह्रै समस्या हुन्थ्यो’ मेयर राईले भने, ‘अहिले आईसोलेशन नभएका जिल्लाहरुबाट समेत सेवा लिन संक्रमित आउने गरेका छन् ।’

उदयपुरमा दैनिक ३८ सिलिन्डर अक्सीजन उत्पादन हुने

त्यस्तै उदयपुरको बेलका नगरपालिकाले पनि कोभिड–१९ बिरुद्ध सक्रियता बढाएको छ । जिल्लाभित्रको बिभिन्न आइसोलेशन सेन्टरहरुलाई लक्षित गरी दैनिक ३८ सिलिन्डर अक्सीजन उत्पादन हुने गरी प्लान्ट स्थापना गर्न लागिएको मेयर दुर्गाकुमार थापाले जानकारी दिए । उनका अनुसार अक्सिजन प्लान्ट निमार्णका लागि पीडी ईन्जिनियरिङ प्रालि र बेलका नगरपालिकाबीच सम्झौतासमेत भइसकेको छ । जसअनुसार प्रतिघण्टा १ हजार १ सय ५० क्युबिक मिटर अक्सीजन उत्पादन हुनेछ ।

‘अक्सिजनको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेरै प्लान्ट स्थापना गर्न लागिएको हो ।’ मेयर थापाले भने, ‘नागरिक बचाउनु स्थानीय सरकारको दायित्व हो ।’ प्लान्ट स्थापनाका लागि नगरपालिकाको आव्हानमा कोष सञ्चालन गरिएको थियो । जसमा बिभिन्न सहयोगी निकायले झन्डै एक करोड हाराहारी रकम सहयोग गरेका छन् ।

विश्व त्रसित बनाउने स्वास्थ्य बिपदको समय स्थानीय सरकारले गरेको सक्रिय प्रयास प्रभावकारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईं बताउँछन् । प्रदेश तथा स्थानीय सरकारको सहयोगमा निर्मित जिल्लाभित्रका आइसोलेशन र कोभिड अस्पतालहरुबाट सर्वसाधरणले सहज रुपमा सेवा पाउदै आएको प्रजिअ सेढाईंको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!