- ईश्वर थापा/संगालोखबर

धनकुटा, १८ बैशाख । धनकुटामा पनि मंगलबार बिभिन्न कार्यक्रम गरेर १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लगायत संगठनले बिभिन्न कार्यक्रम गरेका छन् ।

‘विश्वका मजदुरहरु एक हौं’ भन्ने मुल नारासहित सामाजिक सुरक्षकोष र श्रम ऐन कार्यान्वयनको माग गर्दैै दिवस मनाइएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा हिले बजारको होटल हिले भ्यूमा भएको कार्यक्रममा चिया, सवारी लगायत क्षेत्रमा कार्यरत मजदुर सहभागि थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज उज्ज्वल किराँतीले मजदुर आन्दोलनले देश यो स्थानमा आइपुगेको दावी गर्दै मजदुरको योगदानको स्मरण गराए ।

सो अवसरमा माओवादी केन्द्रका सह–इन्चार्ज ऋषिराम ढुंगाना, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य रामप्रसाद बास्तोला, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण तामाङ्ग, माओवादी केन्द्रका कार्यालय सदस्य रामकुमारी राई लगायतले देश बिकासमा मजदुरले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

 

श्रमको उचित मुल्यांकन नभएको श्रमिकको गुनासो

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट धनकुटाले पनि विभिन्न कार्यक्रम गरेर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । ट्रेड युनियनसँग आवद्ध क्युफेक नेपालको आयोजनामा ‘बदलिँदो परिस्थितीमा श्रमिकहरुको अवस्था र भावी चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका जिल्ला अध्यक्ष भेषराज कटेल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष डा. खगेन्द्र कटुवाल, क्युफेक नेपालका अध्यक्ष सिताराम तामाङ्ग लगायतले श्रमिकहरुले हालसम्म पनि श्रमको उचित पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

प्रतिष्ठान स्तरमा ट्रेड युनियन अधिकार स्थापित गराउँदै श्रम ऐनले दिएका श्रमिकका अधिकार स्थापित गरिनुपर्ने उनीहरुको माग छ ।

यता जिफन्ट निकट नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ धनकुटाले पनि अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा कार्यक्रम गरिएको जनाएको छ ।

 

कसरी मनाउँन थालियो मजदुर दिवस ?

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएपछि विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

 

नेपालमा यसरी मनाउँन थालियो मजदुर दिवस

विराटनगरमा वि.सं २००७ मा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । अहिले देशभर बिभिन्न मजदुर संगठनले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

न्यूनतम ९ हजार ९ सय ४७ रुपैयाँले कुनै पनि मजदुर बाँच्नसक्ने अवस्था नभएकाले तत्काल ज्याला वृद्धि गर्नुपर्ने मजदुरहरुको माग छ । संबैधानिक प्रावधान अनुसार श्रमिकको हितमा सरकारले काम गर्नुपर्ने मजदुरहरुको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!