विराटनगर । राजु क्षेत्री अर्थात राजु सर । विराटनगर–१६ दरहैयास्थित मुसहर बस्तीका बालबालिका र अभिभावकका लागि प्रिय नाम हो । उनी धेरै का प्रेरणाका स्रोत पनि हुन् । राजु सर जब मुसहर बस्ती पुग्छन्, बालबालिका झुम्मिन पुगिहाल्छन् । ‘ट्राइ साइकल’ धकेलेर राजु सरलाई पढ्ने भवनको कोठासम्म पुर्याउँछन् । उनी बालबालिकाको खुसी देखेर आफ्ना सबै दुःख बिर्सिन्छन् ।
ट्राइ साइकलको यात्रा । सडकले दिएको सास्ती । कहिले घाम, कहिले पानी । करिब ३५ मिनेटको दूरी छिचोलेर बस्ती पुग्छन् उनी । कहिलेकाहीँ कसैको सहारामा उनी त्यहाँसम्म पुग्छन् भने कहिले एक्लै दुःखसुख पुग्ने गरेका छन् ।
विराटनगर–१६ दरैयाकै बासिन्दा ४६ वर्षीय क्षेत्री शारीरिक रूपमा अशक्त छन् । तर शारीरिक अशक्तताले उनलाई आफ्नो लक्ष्यमा पुग्नबाट छेक्न सकेन । केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई सधैँ डोहोर्याइ रह्यो । त्यसैले पनि उनी धेरैको प्रेरणाको स्रोत बन्न सकेका हुन् । एकातिर पारिवारिक जिम्मेवारी, अर्कोतर्फ मुसहर बस्तीलाई शिक्षित बनाउने प्रण । जस्तोसुकै कठिन परिस्थिति भएपनि उनले सबै कुरालाई आत्मसाथ गर्दै मुसहर बस्तीलाई शिक्षित बनाएरै छाडे । र, यो क्रम निरन्तर जारी छ ।
इच्छा शक्ति भयो भने आर्थिक, शारीरिक अपाङ्गता जस्ता पक्षले खासै फरक पार्दैन भन्ने उदाहरण हुन् क्षेत्री । घर परिवार चलाउन विराटनगर आँखा अस्पतालको चस्मा डिपार्टमा काम गर्छन् । अनेक आरोह–अवरोह पार गरेका क्षेत्री मुसहर बस्तीका लागि एक कुशल अभिभावक बन्न सफल भएका छन् । पिछडिएको मुसहर बस्ती बेवास्तामा परिरहेका बेला क्षेत्रीले त्यता ध्यान केन्द्रित गरे । उनी बालबालिकालाई नियमित पढाइरहेका छन्, निःशुल्क ।
भूमिहीन मुसहरहरूको बसोवास रहेको बस्ती भारतीय सिमाना नजिकै छ । त्यही बस्तीका बालबालिकालाई क्षेत्रीले ७ वर्षदेखि निःशुल्क पढाइरहेका छन् । उनले पराल भुईँमा ओच्छ्याएर करिब ३० जना बालबालिकालाई पढाउन सुरु गरेका थिए । उनलाई अहिले सम्झँदा त्यो पल सपना जस्तै लाग्छ । भन्छन्, ‘त्यो सुरुवाती चरण सम्झँदा अहिले त आफैँलाई सपना जस्तै लाग्छ । अहिले त बस्नलाई डेक्सबेन्च पनि छन् ।’
लायन्स क्लब अफ विराटनगर पाथीभराले दुईकोठे पक्की भवन बनाइदिएपछि भुईँमा बढाउनु पर्ने बाध्यता हट्यो । यस्तै विभिन्न दाताहरूले शौचालय र पानीको लागि चापाकल पनि बनाइदिए । त्यसपछि भने उनलाई सँगै बालबालिकाहरूलाई पनि सहज भयो । अहिले नियमित २५ जनासम्म बालबालिका पढ्छन् । तर अझै केही कुराको भने अभाव छ । कक्षामा अझै केही डेक्सबेन्च अपुग छ । बर्खाको समयमा डुबान हुन्छ । जसका कारण पठन–पाठनमा अवरोध पुग्छ । यसको लागि पनि केही काम भइदियोस् भन्ने उनको चाहना छ । भवनको वरिपरी जस्तापाता या तारजाली केहीले घेरेर बगैँचा बनाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ ।
उनलाई सुरुवाती दिनहरूमा विराटनगरका हाँस्य कलाकार पारस थापाले पनि साथ दिएका थिए । उनको साथ सहयोगले थप ऊर्जा र हौसला मिलेको क्षेत्री सम्झन्छन् । उनको सहयोग पनि क्षेत्रीका लागि अतुलनीय छ । प्रायः उनी बिहानको समयमा बालबालिकालाई पढाउन जान्छन् । दिउँसो आँखा अस्पताल जान्छन् । फुर्सद भएको दिन दिउँसो पनि बालबालिका पढाउन पुगिहाल्छन् ।
बस्तीमा बेलाबेलामा स्वास्थ्य शिविर पनि राख्ने गरिएको छ । कहिलेकाहीँ सहयोगी दाताहरूले सहयोग गरेका कारण बालबालिकाको पढाइमा सहज भएको छ । कसैले डेक्सबेन्च त कसैले कापी कलम सहयोग गर्छन् । बालबालिकाहरूलाई खाजाको व्यवस्था भएदेखि अझ उनीहरूलाई विद्यालय आउन हौसला मिल्ने क्षेत्री बताउँछन् । कहिलेकाहीँ आफ्नै पकेट खर्च कटाएर बालबालिकालाई उनले खाजा समेत खुवाउने गरेका छन् ।
उनले स्थानीय सरकारबाट केही सहयोगको अपेक्षा गरेका छन् । तर अहिलेसम्म कुनै प्रकारको सहयोग भने पाउन सकेका छैनन् । सहयोग प्राप्त भएमा बालबालिकाहरूलाई आवश्यक पर्ने सामग्री जुटाउन सजिलो हुने उनी बताउँछन् । यो अभियानमा क्षेत्रीकी श्रीमती संगीता गजुरेल पनि साथ छिन् । तीन वर्षसम्म एक्लै पढाएका उनले विवाहपछि श्रीमतीको पनि साथ पाएका हुन् । एक वर्षभन्दा बढी श्रीमतीले पनि निःशुल्क पढाइन् । त्यसपछि भने उनी महानगरपालिकाको बालविकास कार्यक्रममा नियुक्त भएर त्यतै काम गरिरहेकी थिइन् ।
काम गरेवापत उनले केही पारिश्रमिक पाउन थालिन् । यसले घरखर्च चलाउन पनि केही सहज भएको थियो । तर केही महिनायता श्रीमती बिरामी भएपछि भने बालविकासको कोटा नै हटाइयो । उनी भन्छन्, ‘यसमा स्थानीय सरकारले कुनै सहयोग गरेको छैन । भएको कोटा पनि हटाइदियो । पुरै समय यसैमा दिन्छु कोटा नहटाइदिनु भन्दा पनि केही उपाय लागेन ।’ घरको आर्थिक अवस्था पनि कमजोर भएका कारण आँखा अस्पतालमा काम गरिरहेको उनी बताउँछन् । स्थानीय सरकारले बाल बिकासको कोटा नहटाइदिएको भए पुरै समय यही दिन्थेँ, उनी भन्छन् ।
यसरी बन्यो पढाउने सोच
क्षेत्री एकदिन घुम्ने क्रममा उक्त बस्तीमा पुगे । त्यहाँ पुग्दा बालबालिकाहरू विद्यालय गएको पाएनन् । माछा मार्ने, खेल्ने गर्दै उनीहरुको दिन बितिरहेको थियो । उनले बालबालिकालाई सोधे, स्कुल जान मन लाग्दैन ? बालबालिकाले जवाफ दिए– जान मन लाग्छ तर जान पाएका छैनौँ ।
त्यसपछि उनलाई मैले यहाँ केही गर्नसक्छु भन्ने लाग्यो । उनी सम्झन्छन्, ‘त्यसपछि मैले अभिभावकसँग कुरा गरेँ । उहाँहरू पनि खुसी हुनुभयो । गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन नसक्नुभएको रहेछ । पठाउनुपर्छ भन्ने चेतनाको अभाव पनि रहेछ । मैले उहाँहरूलाई बुझाएँ, उहाँहरूले पनि साथ दिनुभयो । अहिले त उहाँहरू एकदमै खुसी हुनुहुन्छ । यो क्रम निरन्तर अघि बढ्नेछ ।’ उनले सुरुवाती चरणमा बालबालिकालाई कपी कलम पनि आफ्नै खर्चमा व्यवस्थापन गरिदिन्थे ।
‘बत्ती मुनिको अध्याँरो देखेर केही गर्नुपर्छ भन्ने सोच आयो । मेरो कामबाट अरुलाई पनि प्रेरणा प्राप्त होस् भन्ने सोचाइका साथ सुरु गरेको हुँ’, क्षेत्री भन्छन्, ‘गरिबीका कारण विद्यालय जान नपाएका बालबालिकालाई शिक्षाबाट बञ्चित गर्न हुँदैन भन्ने सोचाई आयो । मैले सपना देँखे । मेरो सपनालाई केहीले छेक्न सकेन । मैले गरेका कामबाट एकदमै सन्तुष्ट छु ।’
‘दुर्घटनाले ट्राइ साइकलसम्म पुर्यायो’
क्षेत्री १५/१६ वर्षका थिए । एकदिन विद्यालय जाने क्रममा साइकलबाट लडे । उनी सम्झन्छन्, ‘दाहिने खुट्टामा सामान्य चोट लागेको थियो ।’ उनले कल्पना समेत गरेका थिएनन्, सामान्य चोटले यो अवस्थामा पुर्याउँछ । तर सामान्य लागेको दुर्घटनाले ट्राइ साइकलको सहारा बनायो । एउटा खुट्टामा सामान्य चोट लागेको भएपनि पछि सङ्क्रमणका कारण दुवै खुट्टामा समस्या देखियो उनी सम्झन्छन् । उपचार त भयो तर सही उपचार पाउन नसक्दा दुईवटा खुट्टासँगै शरीर पनि सुक्दै गयो ।
‘विभिन्न ठाउँमा देखाउँदा पनि उपचार हुन सकेन’, उनले भने, ‘डाक्टरले ढाडको नसामा चोट लागेका कारण उपचार सम्भव नभएको बताए । यही कारणले शरीरसँगै दुबैखुट्टा सुके ।’ दुर्घटनाकै कारण पढाई पनि करिब १० वर्ष रोकिएको उनी सुनाउँछन् । मिल्स माध्यमिक विद्यालयबाट एसएलसी दिएका उनले स्टार बोर्डिङ स्कुलबाट ११ कक्षाको अध्ययन गरे भने काठमाडौँको पशुपति क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गरे । उनले स्नातक तहको अध्ययन सुरु गरे पनि पूरा भने गर्न पाएनन् ।
खुसी छन् अभिभावक
जलशिदेवी ऋषिदेव, राजु सरकै कारण आफ्नो बस्ती शिक्षित भएको बताउँछिन् । दैनिक ज्याला मजदुरीमा काम गर्नु पर्ने बाध्यताले बालालिकालाई विद्यालय पठाउन नसकिरहेको अवस्थामा राजु सरले ठूलो गून लगाएको उनले बताइन् । उनले भनिन्, ‘उहाँकै कारण हामी पनि सचेत भयौँ । बालबालिकालाई विद्यालय पठाउनु पर्छ भन्ने ज्ञान आयो । हामीलाई पनि धेरै कुरामा शिक्षित बनाउनुभयो ।’
खुश्बु ऋषिदेव पनि खुसी छिन् । बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि गरिबीका कारण पठाउन नसकेको अवस्थामा राजु सरले ठूलो गुन लगाएको उनी बताउँछिन् । उनले भनिन, ‘धेरै कुरामा यो बस्ती शिक्षित थिएन । उहाँले नै आज यो अवस्थामा पुर्याउनुभयो ।’ केही समय त्यहाँ अध्ययन गरेपछि बालबालिका नजिकैका विद्यालयमा भर्ना हुन्छन् । अभिभावकले नियमित बालबालिकालाई विद्यालय पठाउने गरेका छन् ।